२०८१ बैशाख १३

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन्।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको जिकिर गरे।


Advertisement


‘नेपालमा जति पनि पार्टी छन्। सबै शिक्षककै योगदानका कारण ती पार्टीहरु छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरुलाई जनताको विचमा लैजाने शिक्षकहरु नै हुन्। अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन’,

उनले शिक्षकलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए। राजनीतिक रुपान्तरणमा उनीहरू लाग्नुपर्ने दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले शिक्षकलाई राज्यले अन्याय गरेको पनि बताए। शिक्षकलाई राज्यले विभेदमा पारेका कारण शिक्षकले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाई छ। ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ। यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ,’ दाहालले भने, यो नेगेटिभ भित्रको पोजेटिभ भएकै कारण शिक्षक मजदुर, किसानसँग एकाकार भएर आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिनुको कारण त्यहीँ हो। नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईँहरु पनि भएको भए के को आन्दोलनकारी हुने? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला।’

अध्यक्ष दाहालले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दावी गरे।

उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाए। ‘अहिले मधेशमा पनि फेरि एकचोटी माओवादीको पक्षमा जनतामा एउटा लहर आउन खोज्दैछ। बुद्धिजिवीमा लहर आउन खोज्दैछ। थुप्रै गज्याङमज्याङ छ पार्टी भित्र तर पनि जनता चाहीँ क्लीयर छन्। जनता अब नेतृत्वको बारेमा पनि क्लियर छन्। लाइनमा पनि क्लियर छन्’, उनले भने।

उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए।

‘महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु। तपाईँहरु केपी ओलीको अगाडि आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठूलो गुन लगाउनु भएको छ। धेरै ठूलो सहयोग गरिदिनुभयो। किनकि, नेपालमा संघीयताविरोधी, मधेसी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले चाहीँ बुझ्यो।’

उनले नेताहरुले उसैको अगाडि आत्मसर्मपण गर्देर जनतालाई अझ छ्याङ्ग हुन मद्दत गरेको बताए।

‘अहिले जसरी मधेशको एउटा कन्फ्युजन, भ्रम थियो। मधेशको असली मशिहा, मधेशका मुक्तिदाता मधेशी नै हुन् भन्या जस्तोगरी आएका थिए नि राजेन्द्रहरू। अब त थाहा भइसक्यो नि। मधेशका मजदुर, किसान, शिक्षक, बुद्धिजिवी आम जनतालाई ठग्ने मधेशी दलालहरु नै हुन्। पहाडियालाई ठग्ने पहाडिया दलालहरु नै हुन्। मधेश र पहाड एक भएर दलालका विरुद्ध संघर्ष गरियो भने मधेशका जनताको पनि, पहाडका जनताको पनि मुक्ति सम्भव छ,’ उनले भने।

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताए।

Copy link
Powered by Social Snap