२०८१ बैशाख १८

विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

श्रीलंकालाई ७ विकेटले  हराउँदै अस्ट्रेलियाले टि-२० विश्वकपको सुपर-१२ चरणमा लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरूआत गरेको अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा बिहिबार राति श्रीलंकालाई हराएको हो।


Advertisement


दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर १७ ओभरमा भेट्टायो। अस्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए। ४२ बल खेलेका उनले १० चौका प्रहार गरे। कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले ७ बलमा अविजित १६ रन बनाए। ग्लेन म्याक्सवेल ६ बलमा ५ रन बनाएर आउट भए।

श्रीलंकाको बलिङमा वानिन्दु हसंरगाले २ तथा दासुन शनाकाले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। उसको लागि भानुका राजापक्षले अविजित ३३ रन तथा कुशल परेरा र चरिथ असलंकाले समान ३५ रन बनाएका थिए। दासुन शनाकाले १२ तथा चमिका करूनारत्नेले अविजित ९ रन बनाए।


अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिए।

जितपछि अस्ट्रेलिया सुपर-१२ चरणको समूह ‘१’ अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ। २ खेलमा अस्ट्रेलियाको ४ अंक रहेको छ। समान अंक रहेको इंग्ल्यान्ड नेट रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ। 

२ खेलमा १ जित र १ हारपछि श्रीलंका चौंथो स्थानमा छ। अस्ट्रेलियाले आगामी खेल अक्टोबर ३० तारिखमा इंग्ल्यान्डसँग तथा श्रीलंकाले सोहि दिन दक्षिण अफ्रीकासँग प्रतिस्पर्धा गर्नेछ।

Copy link
Powered by Social Snap