२०८३ आश्विन १५

कात्तिक २८ सम्म एमाले महाधिवेशन प्रतिनिधि छानिसक्नु पर्ने

नेकपा (एमाले) को १० औं  राष्ट्रिय महाधिवेशनका सहभागी हुने प्रतिनिधिको छनोट कात्तिक २८ गतेसम्म गरिसक्नु पर्ने भएको छ।


Advertisement


शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले कात्तिक २६ गतेसम्म प्रतिनिधि छनौट गरी २८ गतेभित्र प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य पठाइसक्नु पर्ने निर्णय गरेको छ।

चितवनमा मंसिर १०-१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ५ सय ५२ प्रतिनिधि सहभागी हुने भएका छन्।

एमालेका एक नेताले दिएको जानकारी अनुसार शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लगाएको हो। बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त संख्यामा महाधिवेशन प्रतिनिधि आउने प्रस्ताव गरेको थियो।

एमाले उपाध्यक्ष भीम रावललगायत नेताहरूले भने महाधिवेशन प्रतिनिधि संख्या १८ सयदेखि २ हजारसम्म पुर्‍याउनु पर्ने मत राखेका छन्।

एमालेले संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्ने भएको छ। संगठित सदस्यताका आधारमा कुन निर्वाचन क्षेत्रबाट कति महाधिवेशन प्रतिनिधि आउने भन्ने टुंगो लाग्नेछ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अहिले एमालेमा ७ लाख २८ हजार संगठित सदस्य बनेको बताए।

कुनै क्षेत्रमा १५ सय संगठित सदस्य हुँदा १ महिला र २ पुरुष महाधिवेशन प्रतिनिधि आउने छन्। त्यसपछि १ हजार संगठित सदस्य थपिँदा थप एक प्रतिनिधि आउन पाउँछन्। तर त्यो संख्या तीन हजार पुग्यो भने महाधिवेशन प्रतिनिधि छानिनेमा एक जना महिला अनिवार्य हुनु पर्नेछ।

Copy link