२०८१ बैशाख १३

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थानमा उक्लिएको हो।

सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो। खेलको ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाए। ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए ।


Advertisement


घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन। ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो । सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने। ४३ प्रतिशत बल पोसेसन राखे पनि सोसिडाड महत्वपूर्ण जित निकाल्न सफल भयो। सोसिडाडका गोलरक्षक म्याथ्यु रायन ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै सोसिडाडले २४ अंक बनाएको छ। ११ खेलमा सात जित, तीन बराबर र एक हार खेपेको सोसिडाडले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ। एक खेल कम खेलेको रियलको २१ अंक छ। सोसिडाडसँग पराजित सेल्टा भिगो १० अंक सहित १४औं स्थानमा छ।

बिहीबार रातिनै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड र लिभान्तेले २–२ तथा ग्रानाडा र गेटाफेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै छैटौं स्थानमा उक्लिएको एट्लेटिकोले १० खेलबाट १९ अंक बनाएको छ। पराजित लिभान्ते रेलिगेसनको दबाबमा छ। १९ औं स्थानमा रहेको लिभान्तेको ६ अंक छ। आठ अंक बनाएको ग्रानाडा १७ औं स्थानमा छ । तीन अंकमा सिमित गेटाफे तालिकाको अन्तिममा छ।

Copy link
Powered by Social Snap