२०८१ बैशाख १९

प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका नेताहरुले धमाधम उनको साथ छाड्न थालेका छन् । पछिल्लो समय प्रदेश २ का सभामुख सरोज यादवले उनको साथ छाडेका छन् ।

जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको छ । लोसपामा राजेन्द्र महतोलाई वरिष्ठ नेताको दर्जामा राखिएको छ । तर महतो निकट मानिएका प्रदेशसभा सभामुख यादव भने जसपामै रहे ।

निर्वाचन आयोगले तोकेको समयसीमा भित्र यादवले लोसपाका पक्षमा सनाखत नगरेका कारण उनी जसपामै रहेको मानिन्छ ।


Advertisement


त्यसो त, सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । नयाँ दलको पक्षमा सनाखत नगरेका प्रदेशसभा सदस्य मूल पार्टीमै रहेको मानिने उनको भनाइ छ ।

सभामुख सरोज यादवलाई राजेन्द्र महतोको निकट मानिन्छ । उनले महतोको साथमा लामो समय सद्भावना पार्टीमा रहेर काम गरेका थिए । सद्भावना पार्टी र अन्य दल मिलेर राजपा नेपाल बनेको थियो । राजपा नेपालबाट चुनाव जितेपछि उनी राजेन्द्र महतोको कोटामा प्रदेश २ प्रदेशसभाका सभामुख बनेका हुन् । तत्कालीन राजपा नेपाल र संघीय समाजवादी पार्टीबीच एकता भएपछि जसपा नेपाल गठन भएको हो । तर, जसपा नेपाल विभाजन भएको अवस्थामा निर्धारित समयभित्र नयाँ दलमा सनाखत नगरेका कारण उनी अब जसपाकै प्रदेशसभा सदस्यमा गणना हुने भएका छन् ।

सभामुख यादवमात्र होइन, राजेन्द्र महतोको निकट मानिएका कार्यकारिणी सदस्य राजकुमार लेखी पनि अब लोसपामा नरहने भएका छन् । हाल लोसपाका कार्यकारिणी सदस्य रहेका लेखीले नागरिक समाजवादी पार्टी दर्ता गराएका थिए । समयमा लेखापरीक्षण नगराएको कारण उनको दल दर्ता खारेज भएको छ ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार लेखापरीक्षण नगराएको कारण खारेजीमा परेको दलका पदाधिकारीलाई जरिवाना गरिएको छ र सो जरिवाना नबुझाएसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न पाउने छैनन् । राजकुमार लेखी नागरिक समाजवादी पार्टीका संयोजक थिए ।

यद्यपि, उनले २०७४ मा राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीसँग एकीकरण गरेका थिए । लेखी भन्छन्, ‘हामीले सद्भावना पार्टीसँग एकीकरण गरेका थियौं र त्यसको जानकारी निर्वाचन आयोगलाई पनि गराएका थियौं, तर अहिले आएर लेखा परीक्षण नगराएको भन्दै दल दर्ता खारेज गरेको बारेमा मलाई केही जानकारी छैन ।’

आफू उपत्यका बाहिर रहेको कारण निर्वाचन आयोगले जारी गरेको सूचनाबारे आफूलाई जानकारी नरहेको लेखीले बताए । अर्थात् राजेन्द्र महतोको साथमा रहेका राजकुमारी लेखी पनि जरिवाना नबुझाएसम्म कार्यकारिणी सदस्यबाट हट्ने भएका छन् । 

यसअघि नै महतो पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसदसमेत रहेका समाजिक विकास मन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद डा.रिना यादव, अञ्जु यादव, निरा साहले पनि महतोको साथ छाडिसकेका छन् । उनीहरु सबैजना राजेन्द्र महतो खेमाका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap