२०८१ बैशाख ८

सङ्खुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए । 


Advertisement


बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको थप अनुसन्धान गरिँदै 

घटनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सामूहिक हत्या भएको घटनास्थलमादी–१ खोला गाउँमा पुगेका छन् । बीभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका छन् । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनी आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ । 

गाउँ शोकमा 
परिवारै सखाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताए । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।

घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ  । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ सङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap