२०८३ कार्तिक ३०

काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, बाइडेनले भने- माफ गर्नेवाला छैनौं

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ।

न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो।


Advertisement


अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ।

सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए। त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थिएन।

काबुलका स्वास्थ्य अधिकारीहरूले बिस्फोटमा मारिने सर्वसाधारणबारे फरक-फरक तथ्यांक दिएका छन्। केहीले ३० देखि ६० जना मारिएको बताएका छन् भने तालिबानका एक जना प्रवक्ताले १३ सर्वसाधारण मारिएको र ६० जना घाइते भएको बताएका छन्।

प्रत्यक्षदर्शीहरूले बिस्फोटस्थल वरपर महिला, बालबालिका र पुरुषहरूका शव छरपस्ट परेको बताएका छन्।

बिहीबार साँझको बिस्फोटको जिम्मा मुस्लिम आतंकवादी समूह स्लामिक स्टेटले लिएको छ। अफगानिस्तानमा रहेका आफ्ना समर्थकहरूका लागि उक्त बिस्फोट गरिएको उक्त समूहले बताएको छ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त बिस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताएका छन्।

बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्।

‘जसले यो बिस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौं न त बिर्सने छौं,’ बाइडेनले भने,‘हामी तिमीहरूलाई फेला पार्नेछौं र यसको मूल्य चुकाउन लगाउने छौं।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भएकाले सचेत रहन आफ्ना नागरिकलाई आग्रह गरेका थिए।

अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन्। तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap