२०८१ बैशाख १८

एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

गत साता एकै दिन नेपाल स्टक एक्स्चेन्जमा करिब १९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रमा एकै दिन १९ अर्ब रुपैयाँको सेयर कारोबार हुनु सानो होइन । 

हालै सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकले ९० अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा ऋणका रुपमा लगानी गरेका छन् । अन्य वित्तीय संस्था र सहकारीबाट पनि ठूलो रकम सेयर बजारमा आएको छ । स्रोत नखुलेको सम्पत्ति पनि सेयर बजारमार्फत भित्रिएको अनुमान छ । जुनरुपमा  सेयर किनबेच भइरहेको छ त्यसले यो देखाउँछ पनि । यस आधारमा तुलनात्मकरुपमा सानो अर्थतन्त्र भए पनि सेयर बजारमा कारोबार ठूलो हुँदै गएको छ । 

यस बजारमा कुनै संकट आयो भने यसले समग्र वित्तीय क्षेत्र नै डाँबाडोल बनाउनेछ । त्यसैले अब सेयर बजारलाई वेवास्ता गरेर जाने अवस्था छैन । सरकार र केन्द्रीय बैंकले सेयर बजारलाई अब हल्कारुपमा लिन हुँदैन । यसलाई केन्द्रमा राखेर नीति नियम बनाउनु, संचालनमा विशेष सावधानी अपनाउनु तथा नियामक संस्थालाई अझ सशक्त बनाउनु जरुरी छ । 


Advertisement


नेपालको सेयर बजार हेर्दा कस्तो लाग्छ ? यो प्रश्नमा पहिले नेपाल र अहिले अमेरिकाको सेयर बजारमा कारोबार गर्ने विज्ञ भन्छन् – अमेरिकाको तुलनामा नेपालको सेयर बजार बच्चाजस्तो हो । त्यहाँ चारपाँच जना मिलेर तलमाथि गर्न कुनै गाह्रो छैन । 

केही वर्षअघिको उदाहरण हो । भारतबाट आएका एक जना  विवेक भन्ने व्यक्तिले नेपालको सेयर बजारबाट ठुलै लाभ लिएर गए । तारा गाउँ (हायात रिजेन्सी) र  ओरेन्टियल होटल (रेडिसन)को प्राथमिक सेयर निष्कासनका बेला सल्लाहकार भई आएका विवेकले सजिलै नियामक निकाय, मिडिया सबै उपयोग गरे । प्राथमिक निष्कासनमा ठूलो आशा देखाए । अमिल्दा वित्तीय तथ्यांक प्रचारमा ल्याए । त्यसले गर्दा प्राथमिक सेयरमा निष्कासनभन्दा कैयौं गुणा बढी पैसा उठाउन सफल भए । यसबाट आफ्नो कमिसन पनि बढाए । 

सेयर बजारमा प्रत्येक दिन नयाँ लगानीकर्ता प्रवेश गरिरहेका छन् । विशेषगरी युवा, गृहणीहरुसमेत बजारमा आकर्षित भएका छन् । कतिपय बेरोजगार युवालाई सेयर बजारले काम दिएको छ । बजारमा उछाल आएको बेला नयाँ लगानीकर्ता थपिने गर्छन । बजार घट्न थालेपछि आत्तिएर यस्ता लगानीकर्ताले बजार छाड्छन् । कतिपयले यसमा सरकारलाई दोष दिन्छन् । सडकमा आउँछन् । 

लगानीमा केही न केही जोखिम त भइहाल्छ । सेयर बजारमा कतिले कमाउँछन् कतिले गुमाउँछन्, यो स्वाभाविकै हो । तर, बजारलाई व्यवस्थितरुपमा चलाउन नियम कानुन हुन्छ । नियम कानुन बनाउने, कार्यान्वयन गर्ने व्यवस्था मिलाउने जिम्मेवारी राज्यको हुन्छ । नेपालमा अर्धसरकारी निकाय धितोपत्र बोर्डलाई यो जिम्मेवारी दिइएको छ । तर, धितोपत्र बोर्डले सेयर बजारमा जुनरुपमा बढोत्तरी भइरहेको छ त्यसअनुसार काम गर्नसकेको छैन । बोर्ड अर्थमन्त्रालयको दबाबमा पर्ने गरेको छ । कैयौं नियम कानुन अर्थमन्त्रालयमा पुगेर थन्किएका छन् । कैयौं वर्ष ती नियम कानुन किन थन्किए बोर्डले प्रश्न गर्ने आँटसमेत गर्दैन । 

बोर्डको अध्यक्ष बन्ने योग्यता अर्थमन्त्री वा सरकारसँगको निकटता बनेको छ । कहिले राष्ट्र बैंकका अवकास पाएका त कहिले सेयर बजारको मर्म नबुझेका व्यक्तिलाई त्यहाँ लाने गरिएको छ । त्यहाँका कर्मचारीको काम सरकारबाट नियुक्त भएर बोर्डमा जो पुग्छन् वा आउँछन् ती अध्यक्षलाई सिकाउने, बुझाउने हुन पुगेको छ । धितोपत्र बोर्डको संचालक समितिमा पनि सरकारी कर्मचारीकै बाहुल्य छ । 

बोर्डका अध्यक्ष अवकासप्राप्त व्यक्ति हुँदा निजलाई काम गर्ने कुनै उत्साह पनि हुँदैन । बोर्ड जसरी चलिरहेको छ यो बिचरा भन्न मिल्ने खालको छ । यतिमात्र होइन धितोपत्र बोर्डको कार्यालयमा प्रवेश गर्दा नै सरकारले यो संस्थालाई कुनै महत्त्व नदिएको देख्न सकिन्छ । भारतलगायत कैयौं देशका धितोपत्र बोर्डजस्तै निकायमा सरकारले कडा सुरक्षा व्यवस्था गरेको हुन्छ । तर, नेपालमा यस्तो केही छैन । त्यसैले जो कोही पनि कार्यालयभित्र पसेर धम्की दिन सक्छ । यस्तो भएको पनि छ । बोर्ड कहिले कतै कहिले कतै सर्दै संचालन भइरहेको छ । त्यो हेर्दा नेपालको धितोपत्र बोर्डको कार्यालय बिचराजस्तो देखिन्छ । 

धितोपत्र बोर्ड अहिले फेरि चर्चामा छ । अमिल्दोरुपमा सेयर मूल्य बढेका कम्पनीको सूची सार्वजनिक गरेपछि बोर्डलाई केहीले गाली गर्न थालेका छन् । अब बजार घट्यो भने बोर्डले फेरि तनाव सहनुपर्ने हुन्छ । लगानीकर्ता मुड्की उचाल्दै बोर्ड पुग्न सक्छन् । बोर्डले सूचना सार्वजनिक गर्नेमात्र होइन गलत गर्ने कम्पनी र संचालकलाई ठूलो रकम जरिवाना तिराउनुपर्ने हो ।

भित्रभित्र मिलेर बजार तलमाथि गर्न खोज्नेलाई खोजी खोजी कारबाही गर्नुपर्ने हो । यस्ता गलत प्रवृत्तिलाई रोक्न सानोतिनो होइन ठूलै स्तरको कारबाही गर्नुपर्ने हुन्छ । तबमात्र सामान्य लगानीकर्ताको हित रक्षा हुन सक्छ । तर, यसका लागि न सरकार तत्पर छ न बोर्ड नै सक्षम र तयार देखिएको छ ।  

Copy link
Powered by Social Snap