Quiz खेलेरै घरभाडा तिर्दै लोकसेवा परीक्षार्थी
सिरहाबाट लोकसेवाको सपना बोकेर काठमाडौं आएका हरिनारायण मण्डल अहिले आफ्नो ज्ञानकै भरमा पुरस्कार जित्दै पढाइ खर्च जुटाइरहेका छन्।
सिरहाको एउटा सामान्य किसान परिवारमा हुर्किएका हरिनारायण मण्डलको सपना ठूलो थियो। उनी निजामती सेवामा प्रवेश गरेर देशको सेवा गर्न चाहन्थे। त्यसका लागि उनले नायब सुब्बा बन्ने लक्ष्यसहित लोकसेवा परीक्षाको तयारी गर्ने निर्णय गरे।
सपना पूरा गर्न उनी सिरहाबाट काठमाडौं आए। तर काठमाडौं आउनु जति उत्साहपूर्ण थियो, यहाँ बसेर पढाइलाई निरन्तरता दिनु त्यति नै चुनौतीपूर्ण।
काठमाडौंमा कोठाभाडा, खाना र दैनिक खर्चको जोहो गर्नु सजिलो थिएन। किसानका छोरा हरिनारायणलाई हरेक महिना घरमा खर्च मागिरहन मन लाग्दैनथ्यो। आफ्नै खुट्टामा उभिएर पढ्ने उनको चाहना थियो।
केही समय उनले ट्युसन पढाएर खर्च जुटाउने सोच बनाए। तर त्यसबाट हुने आम्दानीले सबै खर्च धान्न पर्याप्त थिएन। अर्कोतर्फ, अ...
