२०८१ बैशाख २६

एसियन कपको तेस्रो चरण पुग्न नेपालका लागि ताइपेईविरुद्धको खेल महत्वपूर्ण

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनोटका बाँकी तीन खेलको अन्तिम तयारी नेपालले कुवेत सिटीमा गरिरहेको छ। 

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने रहेको छ।


Advertisement


समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि शीर्ष तीनमा पर्न कठिन छ। 

१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्। दुवै टिम अस्ट्रेलियासँग पराजित हुँदा एकअर्काविरुद्ध गोलरहित बराबरीमा रोकिएका थिए। 

नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।  

सम्बन्धित समाचार : नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

नेपालले चार खेलमा हार बेहोर्दा एक खेलमा जित हात पारेको थियो। सो जित ताइपेईविरुद्ध थियो। १० सेप्टेम्बर २०१९ मा ताइपेईमा भएको खेलमा नेपालले घरेलु टिमलाई २-० गोलले पराजित गरेको थियो। 

अब नेपालले समूहमा आफ्नै स्तरको टिम ताइपेईसँग बिहीबार राति पौने १० बजे खेल्दैछ। 

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना सकिएको नेपालका लागि एसियन कपको तेस्रो चरणमा पुग्नका लागि ताइपेईसँगको खेल महत्वपूर्ण छ। 

किनभने ताइपेई नेपालका लागि आफ्नै स्तरको प्रतिद्वन्द्वी हो। अझ नेपालले ताइपेईसँग अहिलेसम्म हारेको छैन।

खेलेका दुई मध्ये एक खेलमा जित हात पारेको नेपालले एक खेल बराबरी खेलेको छ। 

बिहीबार ताइपेईलाई पराजित गर्न सके नेपालका उत्कृष्ट चौथो टिम बनेर सिधैं एसियन कपको तेस्रो पुग्ने सम्भावना हुनेछ। 

ताइपेईपछि नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। यी खेल नेपालका लागि कठिन चुनौती हुने पक्का छ। त्यसअघि ताइपेईसँग उत्कृष्ट नतिजा हात पारे यी खेलमा नेपालको आत्मविश्वास बढ्ने भने पक्का छ।

इराकविरुद्ध खेलेको मैत्रीपूर्ण खेलले ताइपेईसँगको खेलमा सकारात्मक प्रभाव पार्ने नेपाली टिमका प्रशिक्षक अलमुताइरीको भनाइ छ। 

एसियाकै बलियो टिम इराकविरुद्धको खेलमा नेपाल ६-२ गोलले पराजित भएको थियो। खेलबाट नेपाली टिमले धेरै सिकेको प्रशिक्षक अलमुताइरीले बताएका थिए। 

समूह ‘बी’ मा जितविहीन बनेको ताइपेईले पाँच खेलमा २५ गोल खाएको छ भने २ गोल मात्र गर्न सकेको छ। नेपालले पनि १६ गोल खाँदा २ गोल मात्र गर्न सकेको छ। 

कोरोनाका कारण विश्वभर खेलकुद गतिविधि ठप्प हुँदा ताइपेईले झण्डै दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेलेको छैन। उसले पछिल्लो पटक छनोटअन्तर्गत जोर्डनसँग खेलेको थियो। १९ नोभेम्बर २०१९ मा अम्बानमा भएको खेलमा जोर्डनले ताइपेईलाई ५-० गोलले पराजित गरेको थियो। त्यसको एक साताअघि ताइपेईले कुवेतविरुद्ध ९-० को हार बेहोरेको थियो। 

कोरोनाले फुटबल गतिविधिलाई प्रभाव पार्दा नेपाली फुटबल टिमलाई पनि असर गर्‍यो। तर नेपाली टिमले यो बीचमा ६ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा बंगलादेशविरुद्ध चार खेल खेल्यो। जसमा दुई खेल बराबरीमा सकिदा नेपालले एक खेल जित र एक खेलमा हार बेहोर्‍यो। 

ताइपेईको टिमका अधिकांस खेलाडी घरेलु क्लबबाट खेल्छन्। मिडफिल्डर मिग्युल सान्डवर्ग भने स्विडस क्लब एफसी डियुरसोलको यु१९ टिममा आबद्ध छन्। १८ वर्षीय मिग्युलले राष्ट्रिय टिममा डेब्यू गर्न भने बाँकी छ।

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार 
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

Copy link
Powered by Social Snap