२०८१ बैशाख २०

एक पोको भात लिन आउनेहरू

कोरोना महामारी छ, घरभित्रै बस्नू- सरकारको आदेश छ।

तर डल्लुमा हरेक दिन तीन-चार बजे भेला हुने भिडलाई न रोगको डर छ, न आदेशको पर्वाह। डर र आदेश पन्छाउँदै सडकमा निस्किएको भिडलाई बाटाभरि प्रहरीले केरकार गर्छन्। 

उनीहरू बयान दिन्छन्- हामी भात लिन हिँडेको। 


Advertisement


सडकमा भेटेजति प्रहरीलाई यही भन्दै उनीहरू डल्लुको पुल पुग्छन्। त्यहाँ थाहा युथ इन्भेस्टमेन्ट नामक संस्थाले खाना बाँड्छ। त्यो क्षेत्र आसपासका भोकाहरू त्यहीँ जान्छन्, एक पोको (प्याकेट) भात लिन।

भोकको मात्र नाता भएको त्यो भिडमा उनीहरू कसैलाई चिन्दैनन्। चुपचाप छाक पर्खिएर बस्छन्।

एउटा गाडी आउँछ। ‘ऊ…. खाना आयो,’ गाडीतिर दौडिन्छन्। केही क्षण खानाको पोको लिन तँछाडमछाड चल्छ। कोरोनासँग बच्न भौतिक दुरी, मास्क, पन्जा, स्यानिटाइजर, फेस सिल्ड कता हो कता! 

एक जनाले एक पोको खाना पाउँछ। एक्लै हुनेलाई त्यसले एक पटकको भोक मेट्छ। परिवार नै हुनेलाई आफू खाऊँ कि बोकेर घर लैजाऊँ, दुबिधाले झन् पेट पोल्छ। तै पनि धेरैजसो बोकेरै घर पुग्छन्, बाँडीचुँडी खान्छन्। सास अल्झाउँछन्।

ढिला भए त्यो पनि नपाइने हो कि भन्ने डरले सधैं सताउँछ उनीहरूलाई। अनि भोकाहरूको दौड चल्छ। कोही खाना बाँड्ने समयभन्दा एक घन्टा अगाडिदेखि लाइनमा बसिरहेका भेटिन्छन्। अगाडि पुग्नेले रित्तो पेट फर्कनु पर्दैन। मनकारीले ल्याएको खानेकुरा सकियो भने पछि पुग्नेहरू कति त यसै फर्किन्छन्।

‘कहिलेकाहीँ बाँड्दाबाँड्दै हामीले ल्याएको खाना सकिन्छ। उहाँहरूलाई भोकै छाडेर मन खिन्न बनाएर फर्किनुपर्छ,’ थाहा युथ इन्भेस्टमेन्टका संयोजक अर्जुन बस्नेतले भने।

त्यहाँ भोक मेटाउन पुग्ने अधिकांशको परिवार ठूलो छ, पाँचदेखि छ जनासम्म छन्। सबै परिवार नै जाने हो भने प्रहरीले भिडभाड गरेको भन्दै भोको पेटमा लाठ्ठी बजार्छ। त्यसो हुँदा परिवारका एक/दुई जनासम्म खाना लिन जान्छन्। 

‘मेरो छ जनाको परिवार छ। सबै आउने हो भने हुल बाँधेर हिँडेको भन्दै प्रहरीले लठ्ठी हान्छ। छोराछोरी छाडेर श्रीमती र म आएका छौं। दुई पोको भातले ६ जना कसरी बाँच्नू,’ भिडबाट एक व्यक्ति प्रश्न गरिरहेका थिए।

काभ्रे घर बताउने उनी सामान्य अवस्थामा गाडामा राखेर सोडापानी बेच्थे। जीविका चलेकै थियो। निषेधाज्ञापछि बाँच्ने आधार गाडाका चक्का रोकिए। एक छाकका लागि अरूको भर पर्नुपर्ने भयो।

आफूजस्ता दिनभरि पसिना बगाएर बिहान-बेलुका छाक टार्नेको पीडा सरकारले नबुझेको भन्दै उनले दुखेसो गरे। ‘सोडा बेचे पनि प्रहरीले सिसी फुटाइदिन्छ। के गरेर बाँच्नू? यो लकडाउन छउन्जेल रासन पाए हामी खोलेफाँडो खान्थिम्, बाहिर निस्किन्न थिम्,’ उनले आक्रोश मिसिएको स्वरमा भने।

उनीभन्दा धेरै आक्रोशित थिइन् सञ्जु देवी।

भिडबाटै भनिन्, ‘कोरोनाले भन्दा हामी भोकले मर्छौं। कोरोना केही होइन, भोक सबथोक हो। कि हामीलाई रासन दिनुस् कि बन्द खोलिदिनुस्। बरू मरे पनि मरियोस्। हातखुट्टा भएर पनि भिख माग्दै बस्नु परेको छ।’

सञ्जु देवी र उनका श्रीमान उपत्यकामा कवाडी टिपेर बेच्थे। त्यसबाटै पाँच जनाको परिवार धानिएको थियो। एक छाक खान कसैसामु हात पसार्नु परेको थिएन। 

यतिबेला भने उनीहरू जसले जहाँ खाना बाँड्छ, त्यहाँ पुगेर छाक टार्छन्। तर सबैको पेट भर्न परिवारै जानुपर्ने अवस्थाले उनीहरूलाई हैरानी बनाएको छ।

‘हिजो हनुमान ढोकामा भात माग्न गएकी थिएँ। मेरो एउटा छोरा घरमै थियो। थप एक पोको भात दिनुस् न भनेर मागेँ। दिएनन्। अब खाना खान सबै सन्तान बाटोभरि देखाउनुपर्ने हो?,’ उनले भनिन्। 

पार्टी प्यालेसमा सरसफाइको काम गरेर गुजारा गर्दै आएकी सुनसरीकी सरस्वती मुस्लिमको घरमा पनि आजभोलि चुलो बल्दैन। बिहान उठेदेखि दिउँसोको साढे ३ बजेको पर्खाइ हुन्छ। ढिला भए नपाइने डरले दौडिनुपर्छ।

टेकुमा बस्ने उनी हिँड्दै डल्लु पुलसम्म आउन झन्डै आधा घन्टा लाग्छ। खाना छुट्ने डरले उनी घडी हेरेर आधा घन्टा पहिले कोठाबाट निस्किन्छिन्। चारदेखि साढे चार बजेका बीचमा पुलमा खाना पाइन्छ। हतारहतार सरस्वती छोरासहित पुलमा पुग्छिन्। लाइन बस्छिन्। पालो आएपछि छोरा र उनले एक/एक पोको खाना पाउँछन्। त्यो बोकेर उनीहरू घरै गएर खान्छन्। 

‘बिहानैदेखिको भोकले शरीर लखतरान भइसकेको हुन्छ। कतिबेला घर पुगौं र खाऊँ भन्ने हुन्छ,’ उनी भन्छिन्, ‘छोरालाई बिहानै भोक लाग्छ भनेर थोरै त्यही छुट्याएर राखिदिन्छु पनि।’

पार्टी प्यालेसमा काम हुँदा सरस्वती दैनिक पाँच सय रूपैयाँ कमाउँथिन्। काम सधैं नहुने भएकाले त्यहाँको कमाइले पनि ढुक्कले खान पुग्थेन। त्यसमाथि कोरोनाका कारण काम पूरै बन्द छ। कहिलेदेखि खुल्छ, टुंगो पनि छैन। 

‘प्यालेस सानेपामा थियो। निषेधाज्ञा अगाडि त बिहेको सिजन भएर काम राम्रै भइराखेको थियो। तर खाँदै ठिक्क हुन्थ्यो। बच्ने भए त अप्ठ्यारो पर्दालाई हुने रहेछ। अहिले एक छाक पनि अरूले दिएको खाएर टार्नुपरेको छ,’ उनी भन्छिन्, ‘सरकारले राहत दिए सहज हुने थियो।’

यो भिडमा जम्मा भएका सबैको कथा-व्यथा उस्तै हो। समस्या नहुँदो हो त एक छाक खान अरूसँग हात फैलाउन कसलाई रहर थियो र?

ज्यामी काम गरेर छोराछोरी पालिरहेकी ३७ वर्षीया माया तामाङलाई अहिले रूनु न हाँस्नु भएको छ। काभ्रे, तिमालकी उनका पाँच सन्तानमध्ये एकको बिहे भइसक्यो। बाँकी चार जना उनकै भरमा बाँचिरहेका छन्। श्रीमानसँग अलग भइसकेकी माया एक्लैको कमाइले धान्न हम्मे परेका बेला निषेधाज्ञा आइपर्‍यो। 

डल्लुमा एउटा साँघुरो कोठामा भोकसँग पैंठेजोरी खेलिरहेकी उनले भनिन्, ‘काम छैन, कोठा भाडा चार हजार छ। खानै मुश्किल छ, कोठाभाडा कसरी तिर्ने हो। निषेधाज्ञा खुला गरिदिए हुन्थ्यो। कि हामीलाई राहत दिए पनि बाँच्न त सकिन्थ्यो होला।’ 

धन्न खाना बाँड्ने पुल नजिकै उनको कोठा छ। छोराछोरी सबै गएर एक/एक पोको खाना ल्याउँछन्। बेलुका पेट भरिन्छ। तर बिहान कहिले भोकै बित्छ, कहिले चिउराले टर्छ। अघिल्लो लकडाउनमा सरकारले दिएको पाँच किलो चामलको जाउलोले केही छाक टरेको थियो। अन्य संघसंस्थाले दिएको राहत पनि पाएकी थिइन् मायाले। यसपालि बेलुका एक पोको भातबाहेक केही पाएकी छैनन्।

‘सरकारले अब कोही भोकै मर्नुपर्दैन भन्दा खुसी लागेको थियो,’ उनले भनिन्, ‘तर भोकभोकै यस्तो अवस्था भयो। रमिता हेरिरहेको सरकार देख्दा त्यो भाषण सम्झिएरै वाक्क लागेर आउँछ।’

उनले आक्रोशित हुँदै थपिन्, ‘आज आफूलाई परेपछि थाहा भयो। सरकार त जनता चुपचाप कोठामा थुनिएर भोकभोकै मरून् भन्ने चाहँदो रहेछ।’

Copy link
Powered by Social Snap