२०८१ जेष्ठ ६

कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान कार्यकारी सरकारले खोप माग्ने निहुँमा आलंकारिक राष्ट्रपतिलाई अघि सारेको भन्दै आपत्ति जनाएकी छन् । मन्त्रिपरिषदले सम्बद्ध देशका राष्ट्रपतिलाई पत्राचार गरी कूटनीतिक पहलबाट खोप तथा आवश्यक अन्य औषधिको व्यवस्था गर्नुपर्नेमा विभिन्न देशका राष्ट्रपतिलाई फोन गर्न लगाउनु आपत्तिजनक भएको नेतृ संग्रौलाले बताइन् ।

आलङ्कारिक राष्ट्रपतिलाई सरकारले कोभिड–१९ विरुद्धको खोपको बहाना बनाएर अघि सार्न लागेको बताइन् । खोप माग्न लगाएर विश्वका राष्ट्रपतिहरूसँग अनुनय बिनय गर्दै भीख माग्नेजस्तो रुपमा राष्ट्रपतिलाई अघि सारेर कार्यकारी सरकार रमिते बनेको भन्दै उनले सरकारको यस कार्यको विरोध गरिन् ।


Advertisement


‘संविधानको कुन धाराले सरकार र राष्ट्रपतिलाई यो अधिकार दिएको छ ? यस्तो महामारीको अवस्थामा सरकारले हो खोपको व्यवस्था गर्नुपर्ने तर किन गरको छैन ? राष्ट्रपतिलाई फोन गरेर खोप खोज्न लगाएको छ । सरकार कहाँ छ  ?,’ संग्रौलाको प्रश्न छ ।

यस विषयको जानकारी जनतालाई दिन उनले माग गरिन् । यदि त्यसो नगर्ने हो भने यसका अनेकौं अर्थ लाग्न सक्ने उनको भनाइ छ । वर्तमान राष्ट्रपतिका क्रियाकलापबाट आम नेपाली जनता सशंकित भएका भन्दै त्यसैमा पनि फेरि सरकारले दिनदिनै कुनै न कुनै देशका राष्ट्राध्यक्षसँग फोन गर्न लगाएर अर्को नालायकी र नेपाल जनताको शिर झुकाउने काम गरेको संग्रौलाको आरोप छ ।

‘के अब मन्त्रिपरिषद मातहतका निकायले गर्नुपर्ने कार्य पनि सोझै राष्ट्रपतिबाट गराइ उहाँलाई नै सक्रिय  बनाउन खोजिएको हो ? के अब कार्यकारी अधिकार प्राप्त मुलुकको मन्त्रिपरिषदले गर्नुपर्ने काम पनि राष्ट्रपतिबाटै गराउन खोजिएको हो ?,’ उनले प्रश्न छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap