२०८१ जेष्ठ ६

चीनबाट भोलि आइपुग्ने कोरोनाविरूद्धको खोप कसलाई लगाइँदैछ?

चीनले अनुदानमा दिने भनेको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज भोलि (मंगलबार) नेपाल आइपुग्दैछ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ जाँदैछ। उक्त खोप लिएर जहाज मंगलबार बिहान नेपाल आइपुग्ने एयरलाइन्सले जनाएको छ। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र खोप स्थलमार्ग भएर आउने बताइएको छ।


Advertisement


यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो। त्यो बेला खोप थोरै रहेको र काठमाडौंमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाडौंमा केन्द्रित गरेको हो।

अब भोलि आइपुग्ने थप खोप भने कसलाई लगाउने भन्नेबारे निर्णय भइसकेको छैन। स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको खोप शाखाका प्रमुख डा. झलक गौतमले चीनले दिएको खोप कसलाई लगाउने भन्नेबारे टुंगो गर्न छलफल भइरहेको जानकारी दिए। ‘अहिले हामी छलफलमै छौं। खोप कसलाई दिने भनेर निर्णय भइसकेको छैन,’ उनले भने।

यद्यपि चीनबाट आउने खोप दुई तीन वटा प्राथमिकतालाई टुंगोमा पुर्‍याएर वितरण गर्न सकिने डा. गौतम बताउँछन्। जस अनुसार पहिलो प्राथमिकता ५५ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई राखिएको छ। गौतम भन्छन्, ‘५५ देखि ६४ वर्ष उमेर समूहका धेरै मानिसले दोस्रो प्राथमिकतामा परेर पनि खोप पाएका छैनन्। त्यसैले एउटा त्यो समूह हुनसक्छ।’

दोस्रो ‘हटस्पट’ ठाउँहरूलाई पनि केन्द्रितमा राखेर चिनियाँ खोप वितरण गर्न सकिने डा. गौतम बताउँछन्। धेरै संक्रमित रहेको वा संक्रमणको बढी जोखिममा रहेका ठाउँहरू यकिन गरी ती ठाउँहरूमा पनि खोप वितरण गर्न सकिने उनको भनाइ छ। गौतमले भने, ‘यो भन्दा अगाडि काठमाडौंमा केन्द्रित गर्‍यौं। किनभने काठमाडौं बढी जोखिममा रहेको थियो। यसरी नै जोखिम कुन ठाउँमा बढी छ त्यो हेरेर खोप वितरण गर्न सकिन्छ।’

तेस्रो चाहिँ मिश्रित प्रणालीबाट पनि खोप वितरण गर्न सकिने खोप शाखाको भनाइ छ। मिश्रित प्राणली भन्नाले कुनै पेशा वा भूगोलमा रहेका मानिसहरूलाई प्राथमिकतामा राखी खोप वितरण गरिने डा. गौतम बताउँछन्। ‘जस्तो हिमाली जिल्लामा भोलि संक्रमण फैलियो भने अस्पताल सेवा नि कम छ। त्यसैले त्यस्तो जिल्लाहरूलाई पनि छुट्टै नीति बनाएर जाने कि भन्ने पनि छलफल भइरहेको छ,’ उनले भने।

माथि उल्लेखित प्राथमिकतामा छलफल चरिरहेको भन्दै दुई तीन दिनमै निर्णय गरिने गौतमले जनाए। ‘हामी खोपलाई धेरैबेर भण्डारण गरेर राख्दैनौं। खोप आउनसाथ दुईतिन दिनमै निर्णय गरेर वितरण गर्न थाल्छौं,’ उनले भने।

खोप शाखा अनुसार अझैं १४ लाख भन्दा बढी मानिसले खोपको दोस्रो डोज लगाउन बाँकी छ। ‘कोभिसिल्ड’ नामक भारतीय खोप लगाएका उनीहरूले सरकारले थप खोपको प्रबन्ध गर्न नसकेपछि दोस्रो डोज पाउन नसकेका हुन्। सरकारले भने दोस्रो डोजका लागि खोप प्रबन्ध गर्न पहल भइरहेको जनाएको छ।

तर विश्व बजारमै ‘कोभिसिल्ड’ खोपको अभाव देखिएपछि सरकारले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाको शुत्र अनुसार बनेको अन्य खोप भए पनि आफ्ना नागरिकलाई दोस्रो डोज लगाउन पहल गरिरहेकको छ। डा. गौतम भन्छन्, ‘कोभिसिल्ड लगाएको १४ लाख भन्दा बढी मानिस दोस्रो डोज लगाउन बाँकी छन्। तर कोभिसिल्डको विश्व बजारमै अभाव छ। त्यसैले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाको फर्मुला अनुसार बनेका अन्य खोप भएपनि दोस्रो डोज लगाउन कुरा गरिरहेको छौं।’

Copy link
Powered by Social Snap