२०८१ बैशाख १४

‘पहुँचवाला’लाई मात्र कोरोना खोप दिएको भन्दै विराटनगरमा स्थानीयले गरे विरोध

प्रदेशका मन्त्रीका निकट, उद्योगपतिहरू तथा एमाले कार्यकर्ताहरूलाई मात्रै खोप दिएको पाइएपछि सर्वसाधारणले विराटनगरमा प्रतिरोध गरेका छन्। 

सार्वजनिक सूचनाबिना विराटनगरमा पहुँचवाला उद्योगपतिहरूलाई ‘गोप्य’ रूपमा कोरोनाविरूद्धको खोप दिएको पाइएपछि स्थानीय आक्रोशित बनेका हुन्।

शुक्रबार विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा कोरोनाविरूद्धको दोस्रो डोज दिइएको पाइएपछि स्थानीय आक्रोशित बनेका हुन्। 

शुक्रबार दिउँसो सिनेमा हल परिसरमा वडाक्षेत्र बाहिरका व्यक्तिहरूको चहलपहल बढ्न थालेपछि स्थानीयले सो विषयको सुइँको पाएका थिए। 

बिनाकुनै जानकारी अग्रपंक्तिमा नखटिएकाहरूले पनि खोप लगाएको पाइएपछि स्थानीयले विरोध गरेका हुन्। 


Advertisement


‘प्रदेश सरकारले गोप्य रूपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौं’, स्थानीय पंकज वर्माले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी सहितका फ्रन्टलाइनरलाई खोप लगाएको भए हामी स्वागत गर्थ्यौं।’

प्रदेश सरकार र प्रहरीको मिलेमतोमा उद्योगीहरूलाई सुनियोजित रूपमा खोप लगाउन खोजिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीको आरोप छ। भीड र होहल्ला बढ्दै गएपछि भने नजिकै रहेको प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो। 

खोपका लागि आएको बा १ झ ९३६५ नम्बरको सरकारी गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाइएको थियो।

खोप लगाउने विषयबारे विराटनगर महानगरपालिका समेत अनभिज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन्। 

वडा नं २ का वडाध्यक्ष कुमार पोखरेलले पनि आफूलाई खोप लगाउने विषयमा कुनै जानकारी नआएको बताएका छन्। 
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले खोप पठाएको थियो।

स्थानीयका अनुसार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाइमा ३ सय जना निश्चित व्यक्तिहरूलाई कोरोनाविरूद्धको खोप लगाउने प्रबन्ध मिलाइएको थियो। 

उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने आफू त्यस विषयमा जानकार नरहेको बताएका छन्। यद्यपि त्यहाँ खोप लगाउन पुगेकाहरूले भने प्याकुरेलको खबरपछि आफूहरू आएको बताएका थिए।

स्थानीयले उक्त विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

Copy link
Powered by Social Snap