२०७८ असार ८
Advertisement

.

Advertisement

दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

गुड फ्राइडे सिनेमा

नयाँ शताब्दी सुरू भएसँगै भारतको मलयालम सिनेमामा बिस्तारै नयाँ पुस्ता हाबी हुन थाले। २१ औं शताब्दीको दोस्रो दशकदेखि मलयालम सिनेमाले पुरानो धार छाेड्यो।

कथा चयन र प्रस्तुतिमा नयाँ पुस्ताका निर्देशकहरूले नयाँपन भित्र्याए। यसको असर दर्शकमा पनि राम्रो पर्न थाल्यो। उनीहरूले नयाँ मलयालम सिनेमालाई विशेष माया दिएर सकारे। पछिल्ला एक दशकमा मलयालम सिनेमाले क्षेत्रीयबाट अन्तर्राष्ट्रिय दर्शकसमेतको ध्यान खिच्ने एउटा मुख्य कारण यही हो।

पर्दामा ‘हिरो’ नभएर आममानिसका कथा भन्ने अभ्यासलाई यो समयका केही मलयालम निर्देशकले अभियानका रुपमा अघि बढाइरहेका छन्। प्राविधिक हिसाबले विश्व सिनेमाका शिल्प र प्रयोग आत्मसात गरी यी सिनेमामा स्थानीय कथा भनिएको पाइन्छ। 

मलयालम सिनेमामा नयाँ शैलीको प्रयोग भित्र्याउनेमध्ये निर्देशक लिजो जोस पेलिसरी एक प्रतिनिधि नाम हुन्। भारतबाट अस्कर प्रतिस्पर्धाका लागि छनोटमा परेपछि उनको पछिल्लो फिल्म ‘जल्लीकट्टू’बाट उनी थप चर्चित बनेका छन्। 

हेर्नुस् दुई राम्रा मलयालम फिल्म जो युट्युबमा अंग्रेजी सब-टाइटलमा उपलब्ध छन्।


Advertisement


आमीनः

हास्य-व्यंग्य, उट्पट्या‌ङ घटना र रमाइला संवादले भरिएको ‘आमीन’ हेर्नुअघि दर्शकले आफूलाई अरू फिल्मभन्दा बेग्लै केही हेर्दैछु भनेर तयार राख्नु बेस हुन्छ। किनकि यस फिल्मका पात्र असामान्य छन् र प्रस्तुति बिल्कुल अलग छ।

कथा दक्षिण भारतको कुट्टनदान कुमारंकरी गाउँको परिवेशमा बुनिएको छ। केरलाका सिरियन क्रिश्चियन समुदायलाई पात्र बनाइएको फिल्मको केन्द्रमा सोलोमन (फहद फासिल ) र  शोशना (स्वाती रेड्डी ) छन्।

सोलोमन  प्रसिद्ध क्ल्यारोनेटवादक एस्टापान आशानका छोरा हुन् जो बुवाको मृत्युपछि संगीत ब्यान्डमा स्थान बनाउन असफल हुन्छन्। उनमा प्रतिभा त छ तर त्यो विभिन्न कारणले दबिएर बसेको हुन्छ। शोशना धनी ठेकेदारकी छोरी हुन्।

सोलोमन र शोशनाबीचको प्रेममा शोसनाका अभिभावक बाधक हुन्छन्। उनीहरूले अर्कै मान्छेसँग शोसनाको बिहेको तयारी गर्छन्। बाल्यकालदेखि प्रेममा परेकी शोसना सोलोमनसँग भाग्ने प्रयास गर्छिन्। तर असफल हुन्छिन्।

यसैबेला दुवै पक्षका अभिभावक र गाउँलेले एउटा सर्त राख्छन्। सर्त हुन्छ, सोलोमनले शोशनाको गाउँका ब्यान्डलाई प्रतिस्पर्धामा हराउन सफल भए उनीहरूको बिहे गराइदिने। यो सर्तमा खरो उत्रन सकूँला भनेर सोलोमन आफैंलाई विश्वास हुँदैन। 

उनका विपक्षी र विरोधीलाई जस्तै सोलोमन पनि कुनै चमत्कार भए मात्र प्रतिस्पर्धामा जित्न सकिने कुरामा विश्वास गर्छ। के होला त चमत्कार? यसका लागि हेर्नुस् आमीन।

यो आमीनको संक्षिप्त कथानक मात्र हो। फिल्ममा चर्च र धर्मसँग जोडिएका झगडा र विकृति पनि मज्जाले जोडिएर आउँछ। यस गाउँमा युवा पुजारी भिन्सेन्ट बट्टोलीको आगमनपछि कथाले थप रोचक मोड लिन थाल्छ। 

कथा उस्तो नयाँ होइन तर यो फिल्मको भिजुअल इफेक्ट्स र सिनेमाटिक पक्षलाई निर्देशक लिजोले अलग अन्दाजमा प्रस्तुत गरेका छन्। फिल्म सुरू भएको पाँच मिनेटमै निर्देशकको यो अन्दाजको संकेत मिल्छ। 

पात्रहरूको बोलीचाली, उनीहरूका हरकत र तिनलाई देखाउने निर्देशकको अपरम्परागत शैलीले यो हास्य-व्यंग्य कथा मजेदार लाग्दै आउँछ। नेसनल अवार्ड विजेता अविनंदन रामानुजमको सिनेमाटोग्राफीले डुंगा, तलाउदेखि मान्छेका भावलाई पनि सुन्दर ढंगले कैद गरेको छ।

क्यामरा मुभमेन्ट दर्शकलाई धेरै ठाउँमा सर्प्राइज दिने खालको छ। उत्कृष्ट रङ संयोजनले दिन मात्र नभई रातका दृश्य पनि उत्तिकै लोभलाग्दा देखिएका छन्। पात्रहरूमा पाइने ‘पागलपन’ क्यामरा चलाउने शैलीमा पनि भेटिन्छ। 

सानोभन्दा सानो भूमिकामा रहेका पात्रहरूको समेत उत्कृष्ट अभिनय रहेको फिल्ममा फहद फाजिल, इन्द्रजीत, स्वाती रेड्डी, जोय म्याथ्यु, नन्दुलगायत मलयालम सिनेमा उद्योगका एकसेएक राम्रा कलाकार उपस्थित छन्। 

सांगीतिक कथासमेत जोडिएको फिल्मको संगीत यसै सुन्दर हुने नै भयो। सन् २०११ को ‘आमीन’ वर्षकै पपुलर अवार्ड पाउन सफल मलयालम फिल्म हो। फिल्मले अन्य पुरस्कारसहित केरेला फिल्म क्रिटिक्स एसोसिएसन अवार्डसमेत जितेको थियो।

ईमायूः

मलयालममा ‘ईमायू’ को अर्थ हुन्छ मृत्युपछि स्वर्गको बास होस्। मृत्युपछिको विषय कुरा गर्ने यो फिल्म यात्रा बाबाचन मेस्त्रीको मृत्यु भएपछि उनको मृत्यु र अन्तिम संस्कारको सेरोफेरो घुम्छ। फिल्म रोमन क्याथोलिक समुदायका चेलानम एर्नाकुलम जिल्लाको परिवेशमा खिचिएको छ।

व्यंग्यात्मक हास्य प्रधान यस फिल्मको कथा बाबाचन पात्रको अस्वभाविक मृत्युको घटनासँगै अघि बढ्छ। उनको निधनपछि परिवारका सदस्यले आफन्त र छिमेकलाई खबर गर्न थाल्छन्। 

बबाचनको निधन छोरासँग रक्सी पिएर रमाइलो गरिररहेका बेला भए पनि दर्शकलाई उनी कसरी मरे देखाइँदैन। उनका घरका सदस्यले बबाचनलाई लडेर टाउकोमा चोट लाग्ने गरी ढलेको अवस्थामा देख्छन्। त्यसैले उनको मृत्युलाई सुरूदेखि नै हत्या हो कि भनेर शंकाको ठाउँ दिइएको छ।

यसको पृष्ठभूमिमा बबाचन घर आउनुअघि बाहिर एकजनासँग झगडा गरेर आएको घटना पनि जोडिएकाले उनको मृत्यु गाउँलेका निम्ति अस्वभाविक बन्छ। छिमेकी, डाक्टर, चर्चका पादरीदेखि प्रहरीसम्मले सन्देह गरेपछि उनको मृत्यु संस्कार प्रक्रियामा अवरोध आउँछ। लासको पोस्टमार्टम गर्नेदेखि खर्च जुटाउने अन्य समस्या आइपर्छन्।

तर बबाचनका छोरा एशी भने बुबाको शानदार अन्तिम बिदाइका लागि कटिबद्ध हुन्छन्। यसका लागि उनले प्रहरी, चर्चका पादरी र छिमेकीसँग झगडा गर्छन्। तर परिस्थिति एकातिर अनि उभिँदा द्वन्द्वात्मक अवस्था आउँछ। फिल्मको यो द्वन्द्वले यस परिवार र समाजका सम्बन्धका अनेक जटिलता र कुरुपतालाई नाटकीय र स्वैरकाल्पनिक शैलीमा बाहिर ल्याइदिन्छ।

कुनै थ्रिलर फिल्म हेरेझैं लाग्ने ईमायूमा एउटा गरिबले मृत्युपछिसमेत शान्ति नपाउने क्रुर सत्यलाई कलात्मक हिसाबले देखाइएको छ। फिल्मको पहिलो र अन्तिम दृश्यले बाबाचन र उसको छोराको भव्य अन्तिम संस्कारको इच्छालाई लोभ्याउने गरी चित्रण गरेको छ।

एउटै दृश्य पनि लामो खिचिएको यो फिल्मलाई यथार्थपरक बनाउन निर्देशकले भरपुर मेहनत गरेका छन्। निरन्तर पानी परेको दृश्य र शोकमा रोइरहेका परिवारका सदस्यको भावबीच तालमेल मिलाइएको छ। मुख्य भूमिकामा चेम्बन विनोद जोसेको अभिनय स्तरीय छ। शान्त हुँदा होस् वा आक्रोशित बन्दा उनी पात्रमा छिरेका छन्।  

निर्देशन, अभिनय, स्क्रिनप्ले, सिनेमाटोग्राफीसँगै प्राकृतिक प्रकाश, ध्वनि र पृष्ठभूमि संगीत पनि स्तरीय रहेको यो समीक्षकहरूबाट विशेष प्रशंसा कमाउन सफल फिल्म हो। विविध विधामा फिल्मले दर्जनभन्दा बढी अवार्डहरू जितेको छ। 

Copy link