२०८१ बैशाख २३

नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले एसियाको पूर्व च्याम्पियन इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन्। 

सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकसँग आगामी शनिबार मैत्रीपूर्ण खेल खेल्नुअघि कप्तान किरणले यस्तो बताएका हुन्। 

नेपाल र इराकबीच आगामी शनिबार नेपाली समयअनुसार राति सवा १० बजे इराकको बस्रामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।

‘इराकविरुद्धको मैत्रीपूर्ण खेल हाम्रो लागि ठूलो अवसर हो। त्यसका लागि हामीले राम्रो अभ्यास गरेका छौं,’ कप्तान किरणले भने,’हामी इराकविरुद्धको खेलका लागि तयार छौं। यो खेलले आगामी विश्वकप छनोटका लागि हामीलाई फाइदा पुग्छ।’

इराक एसियाको फुटबलको पावर हाउस मध्येको एक हो। हाल फिफा वरीयतामा इराक नेपालभन्दा १०३ स्थान माथि छ।


Advertisement


इराक फिफा विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।

अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।

छनोटमा समूह ‘बी’ रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।

समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।

नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ। 

विश्वकप छनोट खेलेपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्कनेछ।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार 

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल

मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी

फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट 

Copy link
Powered by Social Snap