२०८१ बैशाख १३

‘अब अक्सिजनको समस्या छैन, अस्पतालले खाली सिलिण्डर ल्याए दुई घण्टामा भरेर दिन्छौं’

दुई साताअघि अक्सिजनको हाहाकार भएका बेला काठमाडौंको बालाजुस्थित शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले आफूलाई सरकारले पाँच वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर जुटाइदिए देशभर अक्सिजन अभाव हुन नदिने दाबी गरेका थिए।
 
त्यो बेला शंकरसँग जम्मा तीनटा ट्यांकर थियो। त्यसमा पनि दुई वटा मात्र १५ हजार टन क्षमताको ट्यांकर थियो। तर ती दुईटा ट्यांकरले ल्याएको लिक्विड अक्सिजनले अस्पतालको माग धान्न सकेन। जसले गर्दा अस्पतालहरूमा अक्सिजनको अभाव हुने क्रम चलिरह्यो। 

अग्रवालका अनुसार ट्यांकर भारतबाट ल्याउनुपर्ने तर भारत नै त्यो बेला अक्सिजनको हाहाकारसँग जुधिरहेका कारण भारतमै पनि ट्यांकरको अभाव थियो। त्यस्तो अवस्थामा ट्यांकर जुटाउन सरकार तहबाटै पहल हुनुपर्ने उनको भनाइ थियो। नभन्दै सरकारले पहलकदमी गरेका कारण दुईटा ट्यांकर जुट्न सकेको अग्रवाल बताउँछन्। 

‘ट्यांकर रहेको कम्पनीलाई हामीले चिठी पठायौं। त्यसपछि नेपाल सरकारले पनि उक्त कुरा भारत सरकारसँग राख्यो। अनि भारत सरकारले उक्त कम्पनीलाई भनेर दुईटा ट्यांकर उपलब्ध गरायो,’ अग्रवालले भने। 

भारतले दिएको दुई वटै ट्यांकर १५ हजार टन क्षमताको हो। त्यसपछि १५ हजार क्षमताकै थप एउटा ट्यांकर पनि अग्रवालले आफ्ना साथीबाट मिलाए। अहिले भने ट्यांकरबाट लिक्विड अक्सिजन आइरहेको उनी बताउँछन्।

अग्रवालले अहिले पर्याप्त मात्रामा लिक्विड अक्सिजन आइरहेको भन्दै अक्सिजनको अभाव नरहेको जनाए। उनले अहिले पनि दैनिक ९ सय सिलिण्डर जति अक्सिजन यतिकै होल्डमा बस्ने गरेको बताए। दैनिक २२ सय अक्सिजन सिलिण्डर आफूले दिनसक्ने भएपनि अहिले १२ देखि १३ सय अक्सिजन सिलिण्डर मात्र माग भएको अग्रवाल बताउँछन्।


Advertisement


‘दैनिक २२ सय सिलिण्डर दिनसक्छु तर माग नै कमी छ। पहिले गाडी लाइनमा हुन्थ्यो तर अहिले त्यो छैन एउटा दुईटा गाडी आउँछ लगेर जान्छ,’ उनले भने। अग्रवालले अहिले अक्सिजनको माग नै कम भएको भन्दै कसैलाई अक्सिजन चाहिने आफूले जुनसुकै बेला पनि अक्सिजन दिन सक्ने जनाए। अक्सिजनको कम माग भएकै कारण भैरहवामा रहेको प्लान्ट नै बन्द गर्नुपरेको अग्रवाल सुनाउँछन्। 

‘अक्सिजनको समस्या छैन। माग नभएर भैरहवाको प्लान्ट नै बन्द भयो। काठमाडौंमा पनि माग कम भएको छ’ उनले भने, ‘भैरहवा र नारायणगढमा प्रशस्त अक्सिजन छ। कसैलाई चहिए जुनबेला पनि दिन सक्छौं।’

तर अस्पतालहरूले भने अहिले पनि माग अनुसार अक्सिजन उपलब्ध नभएको बताउँदै आएका छन्। टिचिङ अस्पताल, पाटन अस्पतालले अहिले अक्सिजन आपूर्ति केही सहज भएपनि अझै माग अनुसार नआएको जनाएका छन्। तर अग्रवालले अस्पताललाई अक्सिजन चाहिए आफूले जुनसुकै बेला पनि अक्सिजन दिन सक्ने बताउँछन्। 

‘अस्पतालले खालि सिलिण्डर ल्याएर आओस् म जुनसुकै बेला पनि दुई घण्टामा भरेर दिनसक्छु,’ उनले भने। अहिले अक्सिजनको अभाव नरहे पनि सिलिण्डरको अभाव हुँदा समस्या भएको अग्रवाल बताउँछन्। उनले अक्सिजन जति पनि रहेको तर भर्नलाई सिलिण्डर अभाव रहेको बताए।

सुरुमा अक्सिजनको हाहाकार हुँदा पनि सिलिण्डरको अभाव थियो। पछि बजारमा रहेका सिलिण्डरहरूलाई एकठाउँ पार्ने र विदेशी सहयोगबाट पनि सिलिण्डर आएपछि त्यो समस्या टरेको थियो। तर अहिले फेरि सिलिण्डरको अभाव रहेको उनी बताउँछन्।  सिलिण्डर भए जतिपनि अक्सिजन भेरेर दिनसक्ने अग्रवालको दाबी छ। 

उनले आफूसँग भएका सिलिण्डर पनि सरकारले कता कता बाँडिदिएको भन्दै अहिले सिलिण्डरको एकदम समस्या रहेको सुनाए। ‘हाम्रो सिलिण्डर पनि सरकारले उठाएर कहाँ कहाँ पठाइदियो। हामीले बजारमा पठाएर पनि एक हजार सिलिण्डर रहन्थ्यो तर अहिले त त्यो पनि छैन,’ उनले भने। 

अग्रवालले अहिले सबै सिलिण्डरहरू गाउँगाउँमा थन्केर बसेको बताए। अहिले सबै गाउँपालिका र नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा अक्सिजन सिलिण्डरहरू अड्किएर बसेको भन्दै उनी भन्छन्, ‘एउटा आइसोलेसनमा २० वटा सिलिण्डर छ भने नेपालमा कति वटा गाउँपालिका र नगरपालिका छ त्यो हिसाब गरुम अनि कति सिलिण्डर अड्किएर बसेको छ थाहा हुन्छ। हामीलाई त अब सिलिण्डर नै छैन।’

सिलिण्डर ‘रोटेसन’ भइराखे मात्र अभाव नहुने भन्दै त्यसरी अड्केर बसे जति सिलिण्डर भएपनि नपुग्ने उनी बताउँछन्। उद्योगले भरेर पठाएरको सिलिण्डर फर्केर नआउने भन्दै उनले त्यसरी फर्केर नआइञ्जेल सिलिण्डरको अभाव नहट्ने बताए। ‘भरेर पठाएको सिलिण्डर फर्केर आएको छैन। ठाउँ ठाउँमा लगेर राखिरहने गर्दा रैछन्। आइसोलेसनमा थन्किएर बसेको छ,’ उनले भने, ‘यसरी त दुई लाख सिलिण्डर आएपनि पुग्दैन। कम्तिमा उद्योगबाट भरेर पठाएपछि त्यो सिलिण्डर फर्केर उद्योगमै आउनुपर्यो नि।’

उनले सिलिण्डर भए अब अक्सिजनको समस्या नरहने दाबी गरे। पहिले ट्यांकरको अभाव रहेकोमा अहिले त्यो समस्या पनि हल भएको भन्दै अक्सिजन आपूर्तिमा समस्या नहुने उनी बताउँछन्। पछिल्लो समय अक्सिजनकै माग पनि कम हुँदै गएको भन्दै अग्रवालले दुईटा ट्यांकर भने फिर्ता गर्ने तयारी रहेको जनाए। ‘अब ट्यांकरको आवश्यकता छैन। भएकै दुईटा ट्यांकर फिर्ता गर्ने सोचमा छु। अक्सिजनको माग नै छैन,’ उनले भने। 

अहिले शंकर ग्यासले ६ वटा ट्यांकरबाट भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन ल्याइरहेको छ। जसमा ६ वटा ट्यांकरले एकैपटक ल्याउँदा ८० टन लिक्विड अक्सिजन ल्याउन सक्छ। ६ वटा ट्यांकरमध्ये पाँच वटा १५ हजार टन र एउटा ५ टन क्षमतको छ। अहिले शंकरले ती ट्यांकरबाट ल्याएको अक्सिजन वीरको ट्रमा सेन्टर, टेकु अस्पताल, नेपालगञ्जको भेरी अस्पताल र लर्ड बुद्ध अस्पतालसहित काठमाडौंका अन्य अस्पतालहरूमा अक्सिजन दिइरहेको छ। 

त्यसबाहेक बचत भएको अक्सिजन नारायणगढस्थित ट्यांकमा भरेर राख्ने गरेको अग्रवाल बताउँछन्। उनले टिचिङ अस्पतालमा पनि दुई तीन दिनमै ट्यांक जडान गरेर लिक्विड अक्सिजन भर्न सकिने जनाए। तर त्यसका लागि टेन्डर स्वीकृत हुन बाँकी रहेको र त्यो स्वीकृत हुनासाथ टिचिङमा पनि लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आउने उनको भनाइ छ। 

Copy link
Powered by Social Snap