२०८१ बैशाख १५

जो महामारीकै बीचमा ठूला होटल बनाउँदैछन्

विप्लव पौडेल र कान्तिपथमा निर्माणाधीन बाराही होटल

कोरोनाका कारण पोहोर हाम्रो अर्थतन्त्र चालीस वर्षपछि ऋणात्मक भयो। महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र यात्रा अवरोधले उद्योग-व्यवसायमा नकारात्मक प्रभाव पार्‍यो। कयौं त सधैंका लागि बन्द भए।

कोभिडबाट अधिक प्रभावित व्यवसायमध्ये एक हो पर्यटन क्षेत्र। दोस्रो लहरको कोरोनाअघि अधिकांश व्यवसाय सामान्य भइसक्दा पनि होटल, हेलिकप्टर कम्पनी तथा अन्य व्यवसाय लयमा फर्किएका थिएनन्। विदेशी पर्यटक लक्षित व्यवसाय त विगत एक वर्षदेखि शून्य व्यापारमै छन्। 

भएका व्यवसाय बन्द गर्नु परेपछि धेरैजसो व्यवसायीले बनाएका नयाँ योजनाका काम कि थाती राखे, कि रद्द गरे। हालै सार्वजनिक एक अध्ययनअनुसार १७ प्रतिशत व्यवसायीले सधैंका लागि व्यवसाय बन्द गरेका छन् भने ३० प्रतिशत बढीले थप लगानीको योजना स्थगित गरेका छन्। 

होटल व्यवसायी विप्लव पौडेल भने यी दुवैखाले व्यवसायीमा पर्दैनन्। उनका होटलहरू बन्द भए पनि  निर्माणाधीन परियोजना निरन्तर चलिरहेका छन्, नयाँ परियोजना पनि अघि बढाइरहेकै छन्।

पोखरामा ‘होटल बाराही’, ‘सराङकोट माउन्टेन लज’ र चितवनमा ‘बाराही जंगल लज’ सञ्चालन गरिरहेका पौडेलले काठमाडौंमा एउटा चारतारे स्तरको होटल बनाइरहेका छन्। कान्तिपथमा निर्माणाधीन उक्त होटल कोरोनाका कारण एक वर्ष ढिला सम्पन्न हुने अनुमान पौडेलको छ।

विप्लव पौडेल

‘अहिले बनिसकेर पनि केही हुने होइन। महामारी प्रभाव सकिएर सामान्य हुने बेलासम्म बनिसक्छ,’ उनले भने। उनका अनुसार एक अर्ब बढी लगानीमा बनिरहेको यो होटल ८० कोठाको हुनेछ। 


Advertisement


पौडेल निर्माणाधीन परियोजनामा मात्र सीमित छैनन्, महामारीअघि नै उनले लुम्बिनी र पोखरामा नयाँ होटलको योजना बनाएका थिए। उनी यो काम पनि अघि बढाउने तयारीमा छन्।

लुम्बिनीमा ‘स्पिरिचुअल’ होटल बनाउन जग्गा किन्ने र डिजाइनको काम सकिएको छ। नक्सा लगायत सरकारी अनुमति पाइनेबित्तिकै निर्माण अघि बढाउने योजना हो। भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि धेरै खर्च गर्नसक्ने पर्यटकलाई सेवा दिनेगरी होटल सञ्चालन हुने उनको भनाइ छ। यो काम अहिलेको महामारीले नरोकिने पनि उनले बताए।

लुम्बिनीसँगै पोखरामा पनि पाँचतारे स्तरको एउटा होटल बनाउने काममा पौडेल सक्रिय छन्। पोखरामा अहिले भएमध्येकै स्तरीय होटल बनाउनेगरी अघि बढेका पौडेल भन्छन्, ‘हामी यसमा पब्लिकलाई पनि सहभागी गराएर जान्छौं।’ 

पोखराको होटल सार्वजनिक लगानीमा बन्ने उनको भनाइ छ। यसको डिजाइन भइरहेकाले तत्काल फिल्डमा जानु परेन। अब तीन महिनामा भने निर्माण काम सुरू गरिसक्ने उनको लक्ष्य छ। 

अधिकांश मान्छे आर्थिक संकटमा परेर व्यवसायबाट पलायन भइरहेका छन्। यस्तो अवस्थामा थप लगानीको काम गर्न पौडेललाई दुई कारणले आत्मविश्वास दिलाएका छन्।

पहिलो, होटल बनिसक्न कम्तीमा तीन वर्ष लाग्छ। त्यतिञ्जेल कोरोना प्रभाव साम्य भइसक्नेछ। 

दोस्रो, महामारी थामिएसँगै विदेशी पर्यटक आगमन धेरै बढ्नेछ। त्यो बेला होटल सञ्चालन राम्रो हुनेछ।

 कान्तिपथमा निर्माणाधीन बाराही होटल

उनी भन्छन्, ‘कर्मचारी व्यवस्थापनदेखि केही आर्थिक समस्या त छन् र हुन्छन् नै। यो संसारभर छ। तर महामारी सधैं रहँदैन। पर्यटक फेरि आउँछन्, अझ बढी आउँछन्। त्यस्तो बेला जोसँग नयाँपन सहितको सेवा हुन्छ, उसले लाभ पक्कै लिन्छ।’

उनले यसमै थपे, ‘भोलि राम्रा दिन आउनेछन्। त्यस्तो बेला हामीसँग अहिलेभन्दा थप तीन वटा स्तरीय होटल हुने छन्। त्यो फाइदा हेर्ने हो।’

यसअघि पनि संकट समयमा पूर्वाधार बनाएकाहरूले संकटलगत्तै पर्यटन बजार बढ्दा फाइदा लिएको उनी सम्झिन्छन्। यो महामारी सकिँदा आफू पनि लाभको ठाउँमा पुग्ने उनको विश्वास छ। त्यसैले अहिले कर्मचारी व्यवस्थापन लगायतको दायित्व निरन्तर निर्वाह गर्दै यो समयलाई थप परियोजना निर्माण गर्ने, नयाँपन सहितका सेवा विकास गर्ने, बजार रणनीति बनाउने लगायतको तयारीमा खर्चिनुपर्ने उनी बताउँछन्। 

‘हामी तीन दशकदेखि होटल व्यवसायमा छौं। पोखरादेखि सुरू भएको होटल श्रृंखला चितवन हुँदै काठमाडौं पुग्दैछ। हामीले जानेको यही क्षेत्र हो। यसमा थप नयाँ के गर्न सकिन्छ भनेर सोच्ने हो। त्यसैले अहिले नयाँ परियोजना बनाउनेतिर पनि लागेका छौं,’ उनले भने। 

पोखरामा भएको होटल बाराहीको मर्मत गरिरहेको पनि पौडेलले जानकारी दिए। ८० कोठा भएको यो होटल चारतारे बनाउने काम भइरहेको छ र अबको दुई महिनामा सकिने उनले बताए। यो काम गर्न अहिले नै उपयुक्त समय भएको उनी बताउँछन्।

‘कोरोना महामारी अहिलेको वास्तविकता हो। यसलाई स्वीकार गर्नुको विकल्प छैन। यसको मतलब हात बाँधेर बस्ने पनि होइन,’ पौडेलले भने, ‘यही कठोर वास्तविकतालाई अवसरका रूपमा देख्नुपर्छ।’

Copy link
Powered by Social Snap