२०८१ जेष्ठ ४

जसपा सांसदहरु कसरी पुगे भक्तपुरको रिसोर्टमा ?

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट लगेको खबर बिहीबार निकै चर्चाको विषय बन्यो । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक रिसोर्टमा पुगेको खबर फैलिएपछि त्यसलाई निकै चासोका साथ हेरिएको थियो ।

आफ्ना पक्षका सांसदको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेपछि सांसदहरु अन्यत्र कतै नजाओस् भनेर अध्यक्ष ठाकुरले आफ्ना पक्षका १९ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर ‘लञ्च’ खुवाएका हुन् । जसपा नेपालका सांसद उमाशंकर अरगरियाले रातोपाटीसँग भने, ‘नेपाली काँग्रेससँग छलफल गरेर आएपछि अध्यक्ष ठाकुरले सबै सांसदलाई बबरमहल पार्टी कार्यालय बोलाउनु भएको थियो । नेपाली काँग्रेससँग भएको छलफलबारे ब्रिफिङ गर्नुको साथै सबै सांसदलाई तटस्थ रहन आग्रह गर्नुभएको थियो ।’


Advertisement


विगतमा सत्ताको खेलमा लागेको कारण मधेशको माग पुरा नभएको र यसपाली आफ्नो माग पुरा गराउने अवसर आएको कारणले सबै सांसद तटस्थ बस्नुपर्ने ब्रिफिङ अध्यक्ष ठाकुरको थियो । अरगरिया भन्छन्, ‘छलफल लामो समय चलेका कारण धेरैले खाना पनि खान पाउनु भएको थिएन । खाना खानका लागि काठमाडौँका धेरै ठाउँमा फोन गरियो । तर कहीँ खुला नभएपछि भक्तपुरका एकजना साथीसँग कुरा भएपछि त्यहाँ खाना सबै सांसदहरु पुगेका हौँ ।’ खाना खाएर कतिपय सांसदहरु चिया–कफी खाँदै गफ गर्दै बसेको बताउँदै उनले भने, ‘यहाँ १९ जना सांसद थियौं ।’

सांसद अरगरिया उपेन्द्र यादव पक्षका सांसद हुन् । उनी विश्वासको मतका लागि भएको चुनावको दिन महन्थ ठाकुरको पक्षमा लागेका हुन् ।

अर्का सांसद् अकवाल मियाँले छलफलका लागि रिसोर्टमा गएको बताए । पार्टीका अध्यक्ष ठाकुरले छलफलका लागि यहाँ सबैलाई बोलाएका बताए । सबै सांसद एक ढिक्का रहने, तटस्थ रहनु नै मधेशको हितमा रहने कुराकानी भएको बताउँदै उनले खाना खाएर केही बेर छलफल गरेर सबैजना आ–आफ्नो घर लागेको बताए ।

‘बबरमहल पार्टी कार्यालयमा पनि बैठक गर्न सकिन्थ्यो तर त्यहाँ पर्याप्त ठाउँ थिएन । समाजिक दुरी कायम गरेर बस्नुपर्ने थियो । बस्नका लागि काठमाडौंमा पनि ठाउँ खोजिएका थियो तर नपाएर भक्तपुर गएका थियौँ,’ उनले थपे, ‘यो रिसोर्ट निकै ठूलो रहेछ, खुल्ला पनि ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap