२०८१ बैशाख २०

‘ब्युटिपार्लरबाट घर धानिरहेका महिलाहरू अब अरूको भरमा बाँच्नुपर्ने भयो’

विगत पन्ध्र वर्षदेखि ब्युटिपार्लर सञ्चालन गरेर खर्च धान्दै आएकी शान्ता शाहलाई हिजोआज मुश्किल छ। घर चलाउन श्रीमानको भर पर्नुपर्छ। पार्लरको भाडा तिर्न पनि अरूसँगै पैसा सापटी माग्न बाध्य छिन्।

एक लाख लगानीमा पन्ध्र वर्षअगाडि कलंकीमा लोटस ब्युटिपार्लर सञ्चालन गरेकी उनले सामान्य अवस्थामा राम्रो कमाउँथिन्। तीन जनाको परिवार खर्च उनको कमाइले धानिएको थियो। तर कोभिड महामारी सुरू भएसँगै कारण लामो समय पार्लरको काम ठप्प भएपछि उठ्न नसक्ने गरी थला परेको उनी बताउँछिन्।

‘काठमाडौंमा एउटा सानो घर बनाएका छौं। श्रीमानको कमाइ घरको किस्ता तिर्न छुट्याएर पार्लरको पैसाले मैले खर्च चलाउँदै आएकी थिएँ,’ उनी भन्छिन्, ‘अब त तरकारी किन्ने पैसा पनि श्रीमानसँग माग्नुपरेको छ। पार्लर खोल्न सक्ने अवस्था छैन। यही बेला पार्लरको भाडा बढ्यो, कसरी तिर्ने हो, भेउ पाएकी छुइनँ।’

शान्ताका अनुसार पार्लरको भाडा मासिक पाँच हजार रूपैयाँ थियो। गत वैशाखदेखि घरबेटीले तीन हजार बढाएर आठ हजार पुर्‍याए। कोरोनाको जोखिम लामो समय रहिरहने हो भने पार्लर निरन्तर सञ्चालन गर्न सक्ने अवस्था छैन। 

‘पार्लर कहिलेसम्म बन्द गर्नुपर्ने हो थाहा छनै। सटर थुनेर कहाँबाट भाडा ल्याएर तिर्नु? यस्तै भयो भने अब सधैंलाई बन्द गर्नुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्। 

ब्युटिपार्लर सञ्चालक महिलाहरूलाई सरकारले केही राहत तथा सहुलियत ब्याजमा ऋण उपलब्ध गराइदिए सहज हुने उनको भनाइ छ। 

कोभिड महामारीका कारण सानादेखि ठूला लगानीका पार्लर नराम्रोसँग थलिएका छन्। कोभिड सुरू हुनुअगाडि मात्रै खुलेका पार्लर त झन् उठ्न सक्ने अवस्थामै छैनन्।

दुई वर्षअगाडि मात्रै बीस लाख रूपैयाँ लगानीमा मित्रनगर, नयाँ बसपार्कमा सञ्चालनमा आएको गुडविल ब्युटिपार्लर एन्ड स्पाको अवस्था नाजुक छ। पार्लर सुरू गरेको केही समयमै कोरोना फैलिन थाल्यो। पार्लर तथा स्पाका सबै काम ठप्प भए। लामो समय थलिएर उठ्ने कोशिस गर्न नपाउँदै दोस्रो लहरको कोरोनाले निषेधाज्ञा निम्त्यायो।


Advertisement


‘भाडा नै साढे दुई लाख छ। पहिलेको भाडा तिर्न सकेको छैन। भाडा घटाइदिनुपर्‍यो भने पनि घट्दैन होला। यसरी सबै बन्द गरेर भाडा तिरिराख्ने अवस्था छैन। तत्काल खुले पनि चल्न धेरै समय लाग्छ,’ पार्लर सञ्चालक इन्दु वैद्यकी बुहारी कमला श्रेष्ठले सुनाइन्। 

राज्यबाट केही सहयोग नभए पार्लर सञ्चालन गरेर आत्मनिर्भर बनिरहेका महिलाहरू पलायन हुने उनी बताउँछिन्।

धेरै लगानीमा खुलेका पार्लरहरूलाई अझै मर्का परेको छ। शान्ता थापाले दुई करोड लगानीमा बौद्धमा शान्ताज युनिसेक्स सलुन एन्ड एकेडेमी सञ्चालन गरेकी थिइन्। तर अहिले उनलाई चिन्ताले सताउन थालेको छ। 

‘अहिले त कोरोनासँग आफैं डराउनुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्था कहिलेसम्म रहने हो, सटर बन्द गरेर भाडा तिर्न सक्ने अवस्था अब छैन।’

सुरूमा सानो लगानीबाट पार्लर चलाएकी उनले कोभिडभन्दा केही समयअगाडि मात्रै लगानी बढाएकी थिइन्। एकेडेमिक पार्लरका रूपमा विस्तार गरी ब्युटिपार्लरसँगै बार्बरको काम पनि सुरू भएको थियो।

शान्ता थापा

‘नाइको काम गरेर भारतीयहरूले वार्षिक करोडौं रकम लैजान्छन् भने हामी आफैं गरौं न भन्ने सोच थियो। कोभिडले चुर्लुम्मै डुबायो। अब के कसो गर्ने हो मेसो पाएको छैन,’ उनले भनिन्। 

कमाएको रकम जति सबै लगानी गरेकी उनले यसअघि लकडाउनको भाडा सापटी मागेर तिरिन्। विगत डेढ वर्षदेखि पार्लर घाटामा छ। कर्मचारीलाई तलब दिनैपर्‍यो। सापटी खोजेर, ऋण लिएर खर्च धान्नुपर्दा आधाभन्दा धेरै पार्लर सधैंका लागि बन्द हुने उनी बताउँछिन्।

उनी आफैंले पहिले लकडाउनको भाडा तिर्दा लागेको ऋण समेत तिर्न नसकेको बताइन्।

‘पहिलो लकडाउनमा हामी सौन्दर्यकर्मीहरूका लागि सरकारी निकायबाट केही सहयोग भएन। दोस्रो लकडाउनमा पनि सहयोग नगर्ने हो भने उक्सिन सक्दैनौं,’ शान्ता भन्छिन्, ‘सरकारले खानै मुश्किल परेकालाई राहत र भाडामा छुट गरिदिए केही सहज हुन्थ्यो।’

पोखरा लेकसाइडमा विगत १२ वर्षदेखि पार्लर सञ्चालनमा गर्दै आएकी पवि गुरुङ महामारीका कारण आफू विस्थापित हुनु परेको बताउँछिन्। राष्ट्रिय सौन्दयकर्मी युनियनकी महासचिव समेत रहेकी पवि भाडा तिर्न नसकेपछि पार्लर घरमै सार्ने तरखरमा छिन्। 

भन्छिन्, ‘अहिले त हामी धेरैजसो पार्लर सञ्चालन गर्न नसक्ने अवस्थामा छौं। पर्यटक नआएपछि लेकसाइड गाउँजस्तै भइसक्यो। म आफैं विस्थापित हुने अवस्थामा पुगिसकेँ। अब घरमै पार्लर सार्दैछु।’

पवि गुरुङ

महामारी अगाडिसम्म लेकसाइडमा, खास गरी सिजनमा कमाइ राम्रो हुन्थ्यो। पर्यटकको सिजनमा सबै खर्च कटाएर ५० हजारदेखि एक लाखसम्म फाइदा हुने उनले बताइन्।

पविका अनुसार गत लकडाउनका कारण युनियनमा आबद्ध ७५ प्रतिशत पार्लर उठ्नै नसक्ने गरी थलिएका थिए। पछिल्लो अवस्थाबारे भने तथ्यांक संकलन भएको छैन।

‘हामीले जटिल अवस्थामा रहेका ब्युटिसियनको सहजताका लागि सरकारसँग राहत माग गर्‍यौं। भाडा छुट गराउन अपिल गर्दै केन्द्रदेखि स्थानीय तहसम्म ज्ञापनपत्र बुझायौं। तर कतैबाट सुनुवाइ भएन,’ उनले भनिन्। 

युनियनमा दुई हजार दुई सयभन्दा बढी सौन्दर्यकर्मीहरू आबद्ध छन्। उनीहरूलाई केही मनकारी घरबेटीले एकदेखि तीन महिनासम्मको भाडा छुट गरिदिएका थिए। कतिपय घरबेटीले भने उल्टै भाडा बढाए। 

बाह्र लाख लगानी गरेर पार्लर चलाउँदै आएकी पवि भन्छिन्, ‘म त यस्तो पीडित छु भने अरूको अवस्था कस्तो होला? ब्युटिपार्लरबाटै घरपरिवार चलाइराखेकाहरू बाँच्नका लागि अरूको सहारा लिनुपर्ने अवस्था आएको छ।’

ब्युटिपार्लरबाट आत्मनिर्भर बन्दै गएका महिलालाई कोभिडले परनिर्भरतातिर धकेलिदिएको छ। बालबच्चाको शिक्षादेखि घर खर्चसम्म धानिरहेका महिलाले अहिले आफ्नो खर्चका लागि पनि अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउनु दुखद रहेको उनी बताउँछिन्।

‘हामी सरकारलाई कर बुझाएर व्यवसाय सञ्चालन गरिरहेका छौं। सरकारले हेर्ने भनेको हामीले दुःख पाएको बेलामा हो। सक्दै नसक्नेलाई रासन-पानी व्यवस्था गर्नुपर्छ। अप्ठ्यारोमा परेकालाई सहुलियत ऋणसँगै भाडा छुट मिलाइदिए निकै राहत हुने थियो,’ पविले भनिन्। 

ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करिब चार लाख ब्युटिसियन छन्। उनीहरूमध्ये अधिकांश महिला हुन्। कोभिड महामारीका कारण यतिबेला अधिकांश ब्युटिसियनहरू धरासायी अवस्थामा रहेको एसोसिएसनकी अध्यक्ष कमला श्रेष्ठ बताउँछिन्।

ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालकी अध्यक्ष कमला श्रेष्ठ

‘यो अवस्थामा काठमाडौंका केही व्यवस्थितहरूलाई असर परेको छैन होला। तर देशका हरेक ठाउँमा ब्युटिपार्लर छन्। कतिको रोजिरोटी यसैबाट चलेको छ। एक महिलाले ब्युटिपार्लरबाट ६/७ जनाको परिवार धानिरहेको अवस्था छ। अहिले उनीहरू कस्तो अवस्थामा गुज्रिरहेका होलान्, कुरा गरिसाध्य छैन,’ अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भनिन्। 

आफूसँग भएको सीप प्रयोग गरेर घर धानिरहेकाहरू अहिले आफ्नै पेट पाल्न नसक्ने अवस्थामा पुगेको उनले बताइन्। सरकारले केही सहुलियत नदिएकोप्रति उनी दुःख व्यक्त गर्छिन्।

‘जटिल अवस्थामा हामीले सरकारको नीति-नियम अपनायौं, महिनौं धैर्य गरेर बस्यौं। तर सरकारले हामीलाई कुनै सहुलियत दिएन। न व्यवसाय खोल भनेर अनुमति नै दियो। हाम्रो धैर्यको सीमा टुट्यो। रोगले भन्दा भोकले मर्न लागेपछि हामी माइतीघर मण्डलमा जुलुस नै निकाल्न बाध्य भएका थियौं,’ अघिल्लो लकडाउनको अवस्थाबारे उनले बताइन्।

सरकारले ब्युटिसियनहरूका लागि राहत, कर छुट तथा बिना धितो ऋण व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

‘अध्ययन गरेर, साह्रै मर्कामा परेकालाई स्थानीय तहबाट राहत प्याकेज पुर्‍याउनै पर्छ,’ कमलाले थपिन्, ‘ऋण उपलब्ध नभए यति लामो समय बन्द भएको पार्लर हामीले फेरि कसरी सञ्चालन गर्न सक्छौं? कर लिने बेलामा ढोकाढोका पुगेर घाँटी न्याँकेको अवस्था छ। राहत पनि त्यसै गरी पुर्‍याउनु पर्‍यो। बरू अनुगमन गरेर वास्तविक पीडितले मात्रै पाओस्।’ 

अहिले सरकारले सहयोग नपुर्‍याए हजारौं ब्युटिसियन पलायन हुने अवस्था सिर्जना हुने उनले बताइन्।

Copy link
Powered by Social Snap