२०८१ बैशाख १५

‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आफूले राखेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ ।’

प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले आगामी दिनमा संवाद, सहमति, एकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले संसद्‌मा प्रक्रिया अपनाउन आएको बताए ।


Advertisement


 ‘विश्वासको मत भनेको संसद् बाहिर गरिएको हल्ला होइन । यो संसद्‌भित्रको प्रक्रिया हो । संसद्ले फैसला गरोस् । मैले सरकारको नेतृत्व गर्न आवश्यक छ कि छैन भन्ने फैसला गरोस् । मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने ।

संविधानको कार्यान्वयन उचित ढंगले गर्न आफू दृढ रहेको ओलीको भनाइ थियो । आफूले कुनै जालझेल र तिकडम नगर्ने बताए ।

प्रतिनिधिसभामा आफूलाई विश्वासको मत प्राप्त नहुने भन्ने आफूले पनि बुझेको ओलीको भनाइ थियो ।

‘अलिअलि परिस्थिति मैले पनि देख्या छु । कसको उपस्थिति छ, कसको छैन ? किन उपस्थित छ, किन छैन ? ती पनि बुझ्या छु,’ ओलीले भने ।

प्रतिनिधिसभा फेरि विघटन हुने आशंका नराख्न पनि ओलीले आग्रह गरेका छन् । ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएसँगै मतविभाजन सुरु भएको छ ।

Copy link
Powered by Social Snap