२०८१ बैशाख ६

मन्त्रिपरिषद् बैठक बोलाइयो, विद्यालय बन्दबारे होला निर्णय ?

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए । 

ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ । 


Advertisement


शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो ।  तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ । 

सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ । ती मन्त्रीका अनुसार विद्यालय तत्काल बन्द गर्दा नै उचित हुने आफूलाई लागेपनि बैठकले के निर्णय गर्छ भन्नेमा निश्चित नरहेको बताए । 

बैठकबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ । 

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो । 

आजको बैठकमा जसपा नेपालले उठाउँदै आएको मुद्दाका बारेपनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले जसपालाई सरकारमा ल्याउन निरन्तर छलफल गर्दै आएका छन् भने जसपाले मुद्दामा फिर्ता, रेशम चौधरीको रिहाइ लगायतका माग अघि सार्दै आएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap