२०८२ पुष ६

विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ । शुक्रबार रातोपाटीमा ‘विप्लव कता गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि शनिबार विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको छ । 

‘हाम्रो पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा जानकारी गराउँछौँ’, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट जारी भएको प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।’


Advertisement


विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । 

गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए ।  ​संसदवादी दलहरु यतिबेला सत्ताको जोड घटाउमा व्यस्त रहे पनि झण्डै दुई वर्ष लामो भूमिगत राजनीतिक जीवनबाट मुक्त भएर खुला धरातलमा आइपुगेका विप्लव मौन छन् । 

सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि ठप्प प्रायः देखिन्छ । सो पार्टीका विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् । उनीहरुले खुला राजनीतिमा आएयता खुला गतिविधिसमेत देखाउन सकेका छैनन् ।

खुला राजनीतिमा आइसकेपछि विप्लव नेतृत्वको नेकपाले राजनीतिक अभियान सञ्चालन गर्ने, ठाउँठाउँमा सभा आयोजना गर्ने, संगठन निर्माणमा लाग्ने धेरैको अनुमान थियो । तर अहिलेसम्म सो पार्टीले त्यस प्रकारका राजनीतिक गतिविधि नगरेकै बेला सो समूहबाट विप्लव पार्टीकै काममा सक्रिय रहेको स्पष्टोक्ति आएको हो। 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap