२०८० चैत्र १६

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

११ चैत, काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ ।

जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए ।


Advertisement


उनका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो ।

तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने जानकारहरु बताउँछन् ।

कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने प्रस्ताव गरेका थिए । २३ पुस २०७७ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा प्रति मेट्रिक टन स्वीस सिंगापुरले ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन प्रस्ताव गरेका थिए ।

लागत मूल्यांकन भन्दा ४ डलर बढीमा मल ल्याउन प्रस्ताव परेको र सोही बेला मलको अन्तर्राष्ट्रिय मूल्य अध्यधिक बढेका कारण दुईमध्ये कम बोल कबोल गरेको कम्पनीलाई ठेक्का दिए सरकारी ढुकुटी बच्ने भन्दै कृषि सामग्री कम्पनीले कृषि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

तर त्यतिबेला मलको मूल्यबारे अध्ययन नै नगरी मन्त्रालयका कृषितर्फका सचिव डा. योगेन्द्रकुमार कार्कीले लागत बढी परेको कारण देखाएर पुनः नयाँ ठेक्का सुरुआत गर्न कृषि सामग्रीलाई निर्देशन दिएका थिए ।

तालुक निकायको निर्देशनपछि कृषि सामाग्री कम्पनीले नयाँ ठेक्का प्रारम्भ ग¥यो । पछिल्लो पटक पनि जोशी बिज हाउसले नै ठेक्का पायो, तर पहिले भन्दा प्रति मेट्रिक टन ८२ डलर बढी पाउने गरी ।

मन्त्रालय स्रोतका अनुसार मल खरिदमा कृषि मन्त्री पद्मा कुमारी अर्याल र कृषि सचिव डा योगेन्द्र कुमार कार्कीको प्रत्यक्ष संलग्नता छ । तर उनीहरुले अस्वीकार गर्दै आएका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap