२०८१ बैशाख १७

कर्णाली भित्रिने नाकामा ‘हेल्थ डेस्क’ राखिँदै

११ चैत, सुर्खेत । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।

कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनः स्थापना गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए ।


Advertisement


‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गछौं,’ निर्देशक खड्काले भने ।

निर्देशक खड्काका अनुसार ‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राखेर उपचार गरिनेछ । र, सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अनिवार्य अभिलेख समेत राखिने छ ।

यस्तै हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई तयारी अवस्थामा राखिनेछ । र, प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनहरुलाई पनि पुनः स्थापना गरिने निर्देशक खड्काले बताए ।

भिडभाड हुने गतिविधि नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर भिडभाड हुने गतिविधि नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न निर्णयसमेत गरेको छ ।

जिल्लाका सार्वजनिक स्थलमा हुने भिडभाड नियन्त्रण गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडाइ गर्नेलगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

सुर्खेतमा दैनिकजसो संक्रमित बढ्दै

कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत बाहेकका अन्य जिल्लामा हाल सक्रिय संक्रमितको संख्या शून्य छ । तर, सुर्खेतमा भने दैनिकजसो संक्रमित बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए ।

बुधबार मात्रै सुर्खेतमा सातजना नयाँ संक्रमित थपिएका छन् । सोमबार र मंगलबार दुई दिनमा मात्रै ६ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजना भारतबाट आएका व्यक्ति रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

भारतबाट आएका ती व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गर्दा अर्को एक जनामा पनि संक्रमण पुष्टि भएको वाग्लेले जनाए । ‘पछिल्लो केही समययता पुनः कोरोना संक्रमणको जोखिम बढ्दो देखिन्छ,’ प्रमुख वाग्लेले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आवश्यक देखिन्छ ।’

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap