२०८१ बैशाख २०

मुहार फेरिएको पाटनढोका

ललितपुर । एक हप्ताअघिसम्म ललितपुरको मुटुमा रहेको पाटनढोका क्षेत्र सवारीसाधनको चाप र जामले आक्रान्त हुन्थ्यो । अहिले स्थिति फेरिएको छ । लतिलपुर महानगरपालिकाले सो क्षेत्रमा निश्चित समयका लागि चार पाङ्ग्रे सवारी साधनलाई निषेध गरी वान वे बनाउनुका साथै अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरेपछि सर्वसाधरणले दैनिकरुपमा भोग्दै आएको ट्राफिकको समस्या समाधान भएको हो ।


Advertisement


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा गत २५ गते देखि त्यहाँ वान वे लागू गरिएको हो । ट्राफिक जाम न्युनिकरणका लागि ललितपुर महानागरपािलका ७ बजेदेखि ८ बजेसम्म सो क्षेत्रमा चार पाङ्ग्रे सवारी निषेध गरेको छ ।

महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएपछि मेयर महर्जनको विशेष पहलमा सो कदम चालिएको महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।

‘ट्राफिक जामले विश्व सम्पदा क्षेत्रको प्रवेशद्वार नै कुरुप बन्ने गरेको थियो । त्यसमाथि ध्वनी प्रदूषण, धुँवा–धुलोले स्थानीयहरु आक्रान्त बनेका थिए,’ हाछेथु भन्छन् । बसपार्क क्षेत्र पनि रहेको पाटनढोका क्षेत्रबाट पिक आवरमा १ मिनेटमा औसतमा २३ वटा चारपाङ्ग्रे र २८ वटा २ पाङ्ग्रे पास हुने गरेका थिए । तर, पाटन ढोकाको चौढाइ मात्र १०.४ फिटमात्र रहेको थियो जसले गर्दा एकैपटक दुईवटा सवारी पास हुन सक्दैन । त्यही भएर सो क्षेत्रमा अध्यधिक जाम हुने गरेको थियो । ‘त्यसमाथि स्कूल, क्याम्पस, ठूला सपिङमल, बैंक, होटल र रेस्टुरेन्ट रहेको सो क्षेत्रमा पैदालयात्रुको चाप पनि उत्तिकै हुन्थ्यो,’ उनले भने ।

सो क्षेत्रमा वान वे लागू गर्न स्थानीयबाट पनि भरपुर सहयोग प्राप्त भएको हाछेथुले रातोपाटीलाई बताए । सो क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि पहललाई तननी टोली, मिखाबहाल टोल र शान्ति युवा क्लब लगायत स्थानीयले सकारात्मकरुपमा लिँदै सहयोग गरेकाले पनि यो अभियान सफल भएको उनको ठहर छ । ‘स्थानीयको सहयोगले पनि हामीलाई यो लागू गर्न सहज भयो,’ हाछेथुले भने ।

मिखाबहाल टोलका अध्यक्ष आपुलाल महर्जनले सुधारका सकारात्मक काममा आफूहरुको जहिले पनि सहयोग रहने बताए । शान्ति युवा क्लब शेखर डंगोल पनि आफ्नो क्षेत्र सुधारको सकारात्मक पहलमा आफूहरुले साथ दिने बताए । तननी अध्यक्ष सुरेशमान महर्जनले वान वे लागू गरिएपछि यस क्षेत्रको ट्राफिक समस्या हल हुनुका साथै अव्यवस्थित पार्किङ लगायतको समस्या हल भएको र सर्वसाधारणले दैनिकरुपमा खेप्नु पर्ने समस्याबाट राहत पाएको जिकिर गरे ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap