२०८१ बैशाख २४

मन्त्री साहद्वारा सहिद परिवारलाई जागिर दिने घोषणा

रौतहट ।  शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका साथै सबै  आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रवार रौतहटको माधव नारायण नगरपालिका वडा ५  मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने उदघोष गरेका हुन । 


Advertisement


आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसंग सम्बन्धित रहेकोले शहिद परिवारमा सिभिल ईन्जिनियर तथा सब(ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताएका थिए । मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको प्रतिबद्धता जनाएका छन्  ।

जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रिया यता सरकारी कुर्सीमा बसेर शहरिया बिलासी जीवन बिताउन थालेपछि शहिद परिवारलाई भुलेको बताउँदै मन्त्री साहले वर्तमान सरकारको प्राथमिकतामा शहिद परिवार रहेको बताएका थिए  ।

शहिदहरुले दिएको बलिदानीकै कारण देशमा नयाँ व्यवस्था आएको आफूहरु नेता भएको स्मरण गराउँदै मन्त्री साहले शहिदको सपना साकार पार्न अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाएका छन् ।

तीन सयभन्दा बढी शहिद परिवारको सदस्यहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसदद्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेललगायतको उपस्थिति रहेको थियो । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap