२०८१ बैशाख २५

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे बुढानीलकण्ठमा काँग्रेसको निर्णायक छलफल

काठमाडौं । बागमती प्रदेशको सत्ता समीकरणका विषयमा नेपाली काँग्रेस रणनीतिक छलफलमा जुटेको छ । विहान १० बजेबाट सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र बागमती प्रदेशका केन्द्रीय नेताहरुबीच छलफल सुरु भएको छ । 

सभापति देउवाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे संस्थागत धारणा बनाउन नेताहरुसँग परामर्श थालेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । 


Advertisement


यता आज (शुक्रबार) दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।  बैठकमा पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने छ । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

उक्त समूहले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।  तर वाग्मती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष काँग्रेसको साथ अनिवार्य बनेको छ । 

ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा प्रचण्ड–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्याउन काँग्रेसको साथविना सम्भव छैन ।

१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ सांसदको आवश्यक पर्छ । ओली पक्षसँग ३६ सांसद देखिएका छन् भने प्रचण्ड–नेपाल ४४ सांसद छन् । पछिल्लो समय प्रचण्ड–नेपाल पक्षका तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ ।

मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद अपुग देखिन्छन् । यस्तो अवस्थामा प्रदेशसभामा २२ सांसद रहेको काँग्रेस निर्णायक देखिएको छ ।

विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद एक सांसद प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने उनीहरुले मुख्यमन्त्री पौडेललाई समर्थन गरे पनि सरकार जोगिने अवस्था छैन ।

काँग्रेसले नेकपा विभाजबाट उत्पन्न परिस्थितको फाइदा उठाउँदै आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिको खोजीमा छ । आजको छलफल पनि यसै विषयमा केन्द्रित हुने बुझिएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap