२०८१ जेष्ठ ४

सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने : भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले महानगरपालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने भएको छ ।

वुधबार महानगरपालिका परिसरमा आयोजित बस खरिद सम्बन्धी सम्झौता कार्यक्रम गरी प्रति विद्यालयलाई २० लाखका दरले स्कुल बस खरिद गर्न सम्झौता सम्पन्न गरेको छ । 


Advertisement


यसरी स्कुल बस खरिद सम्झौता गर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं. १० को नमूना मावि, वडा नं. २० को भिमनगर मावि, वडा नं. २३ को लक्ष्मी मावि, वडा नं. २५ को प्रभात मावि, शुक्रनगर र वडा नं. २९ को कविलास मावि, रहेका छन् ।

बस खरिद सम्झौता पत्र हस्तान्तरण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक उन्नयनमा वृद्धि गर्न विद्यालयहरूलाई स्कुल बस प्रदान गर्ने नीति लिएको बताइन् । यसबाट विद्यार्थीहरूले सहजता महसुस गर्ने बताउँदै विद्यालयहरूमा विद्यार्थी संख्या वृद्धि गर्ने सहयोग पूर्‍याउने विश्वास व्यक्त गरिन् । 

विद्यालयको पहुँच र विद्यार्थीहरूको विद्यालय क्षेत्र आदिलाई अनुगमन गरी विद्यालय छनौट गरिएको उनले बताइन् ।

सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, नारायणी नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा, भिमनगर माविका प्रअ कोमलनाथ घिमिरे, भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालले स्कुल बसको आवश्यकता र यसबाट महानगरले लिएको औचित्यताका बारेमा धारणा राखेका थिए ।

भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थीहरूको पहुँच वृद्धि गराउने उद्देश्यका ५ वटा स्कुल बसका लागि बजेट बिनियोजन गरेको थियो ।

बुधबार सम्पन्न सम्झौता बमोजिम प्रत्येक विद्यालयले २० लाख प्राप्त गर्नेछन् भने सोही रकमबाट विद्यालयले स्कुल बस खरिद गर्नेछन् ।

भरतपुर महानगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार विकास, कक्षाकोठा वृद्धि तथा व्यवस्थिकरण, विद्यालयमा दिवा खाजा, शौचालय तथा शुद्ध खानेपानी पिउने पानीको व्यवस्था, छात्राहरूका लागि सेनेटरी प्याड वितरण, छात्राहरूलाई विद्यालय आउने पहुँच बढाउन साईकल वितरणका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न परिणाममा आधारित मूल्याङ्कन प्रणाली अपनाइ अगाडि बढाइरहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap