२०७८ असार ८
Advertisement

.

Advertisement

मर्ने डरले रातभरि आँखा बन्द गरिनँ

चर्चित हाँस्य कलाकार मनोज गजुरेल ११ दिनको आइसियू उपचारपछि कोरोनामुक्त भएर अहिले घरमा आराम गरिरहेका छन्।

संक्रमणमुक्त भए पनि तन्दुरूस्त नभएकाले उनी अहिले पनि चिकित्सकको  नियमित परामर्शमा छन्। 

फोक्सो र छालाको बीचमा भरिएको हावालाई पाइपबाट निकाल्नु परेकाले त्यसको दुखाइ अझैं उनले खेपिरहेका छन्। जसले गर्दा अरूबेला जस्तो उनी छरितो ढंगले हिँडडुल गर्न र बोल्न सकेका छैनन्। 

मंगलबार भक्तपुर बालकोटस्थित उनको घर पुग्दा गजुरेलको मुहारमा चमक थिएन। उहीँ जोसले बोल्न त खोज्थे तर सक्दैनथे।

बेलैमा अस्पताल पुग्न सकेको भए आफू यस्तो अवस्थाबाट गुज्रिनु नपर्ने गजुरेल बताउँछन्। उनले संक्रमण पुष्टि भएको एक साता आफू घरमै बसेको सुनाए।

‘सुरूका एक साता त घरमै ‘होम आइसोलेसन’ मा बसें। पछि सास फेर्न गाह्रो भएपछि मात्र अस्पताल पुगें,’ उनले भने। 

घरमै बसिरहेका उनलाई एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछि परिवारले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल पुर्‍याइएका थिए। तर डाक्टरको राउन्ड सकिएकाले उनले अस्पताल पुग्नेबित्तिकै आवश्यक उपचार पाएनन्।उनलाई त्यो रात वार्डमै भर्ना गरियो।

‘म अस्पताल पुग्नुअघि डाक्टरको राउन्ड सकिएको रैछ। वार्डमा भर्ना त गरियो तर मलाई गाह्रो भइरहेको थियो,’ उनले त्यो बेलाको क्षण सम्झिँदै भने, ‘सास लिन खोज्यो, छाती दुख्थ्यो।’


Advertisement

त्यो रात गजुरेल पीडा र डर दुबै कारण निदाउन सकेनन्। निदाउन खोज्थे तर फेरि केही भइहाल्ने हो कि भनेर झस्किहाल्थे।

‘निदाउनलाई आँखा बन्द गर्न खोज्दा ला बन्दबन्द नै हुन्छ कि के हो भनेर त्यो रात निदाउन सकिनँ,’ उनले सुनाए।

निकै कष्टकर रात बिताएपछि भोलिपल्ट मात्र उनलाई जाँच गर्न चिकित्सकको टोली आइपुग्यो। सुरूमा उनको छातीको एक्सरे गरियो। पछि रिपोर्ट आउँदा थाहा भयो-फोक्सो र छालाको बीचमा हावा भरिएको रैछ। त्यसपछि छातीमा प्वाल पारेर पाइपले हावा निकाल्नु पर्ने भयो। उनलाई वार्डबाट आइसियूमा सारियो। 

उनलाई भर्ना गरिएको आइसियू ब्लकमा अरू तीन जना संक्रमित थिए।  उनीहरूलाई भेन्टिलेटर लगाइएको थियो।

यसरी जीवन-मरणसँग संघर्ष गरिरहेकाहरूका बीच लम्पसार हुँदा गजुरेल पनि डराए। ‘एकदमै डर लागेको थियो। यता भेन्टिलेटरमा राखिरहेको छ। उताको आमा भर्खरै बित्नुभयो। उता फेरि भर्खरै सास फेर्न गाह्रो भएर ल्याइरहेको छ। त्यो रात निद्रै लागेन,’ उनले भने।  

आइसियूमा उपचार सुरू भएपछि उनमा क्रमिक सुधार आउन थाल्यो। तर सुरुवाती दिनमा भने मानसिक त्रासका कारण पनि उनी चेतमा थिएएन्। ‘आइसियूमा रहँदा सुरूको पाँच दिन त म अर्धचेतमै थिएँ,’ उनले भने।

आइसियूमा हुँदा उनी बाहिरी कुराबाट टाढा थिए। त्यो बीचमा एक पटकमात्र परिवारसँग कुरा गरेको उनलाई सम्झना छ।

त्यसबाहेक भने उनी ध्यान गर्ने र परिवारलाई सम्झिएर समय काट्थे।

‘सबैभन्दा बढी मैले छोरा र छोरीलाई सम्झिँए। छोराछोरी जति ठूलो भए पनि बुवाको आँखामा सधैँ साना हुँदो रैछन्,’ उनले भने।

Copy link