२०८१ बैशाख १७

रत्नपार्क को नाम परिवर्तन गरी मुवा बडा महारानीको अपमान गरियो : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । शनिबार रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । यसअघि उक्त स्थानलाई राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो ।


Advertisement


अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताए । 

थापाले ट्वीटरमा लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।’

अध्यक्ष थापाले शंखधर जस्तो राष्ट्रिय बिभुतिको अरु कसैको नाममा रहेको र व्यापक प्रचलनमा आएको पार्कको नाम बदलेर अवमुल्यन गरेको बताए । उनले भने, ‘काठमाडौं मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ।राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्।उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ ।’

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी भएको थापाको भनाइ छ । ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाईयोस् । हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ । निर्णय पुनर्विचार गरियोस् । द्वन्द निम्त्याउने काम नहोस् । इनफ इज इनफ,’ थापाले उल्लेख गरेका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap