२०८१ बैशाख १३

काँग्रेसले छठ पर्वपछि संसदको विशेष अधिवेशनका लागि दवाव दिने

काठमाडौं । नेपाली काँग्रेसले आगामी छठ पर्वपछि संसदको विशेष अधिवेशन आह्वानका लागि दवाव दिने भएको छ ।  गत असोज दोश्रो साता काँग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन बोलाउन दवाव दिने निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन । यसका लागि अन्य दलको पनि सहयोग चाहिने भएकोले अनौंपचारिक छलफल भइरहेको प्रतिनिधिसभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।   

संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाई अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना सांसद छन् । यसका लागि उसले अन्य दलबाट कम्तिमा ६ सांसदको सहयोग लिनुपर्ने हुन्छ । यसका लागि संसदको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग अनौंपचारिक छलफल भएको र आगामी छटपछि निष्कर्षमा पुग्ने प्रमुख सचेतक खाँणले जानकारी दिए । 


Advertisement


गत असार १८ गते सरकारले बर्षे अधिवेशन अन्त्य गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जनता समाजवादीका नेताहरुसँग संसदको विशेष अधिवशेनका लागि दवाव दिनेबारे छलफल भएको थियो । तर त्यस यता यी दुई दलबीच औपचारिक छलफल भएको छैन् । सरकारले अचानक वर्षे अधिवेशन अन्त्य गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको थियो । 

प्रतिनिधिसभा नियमावली २०७५ को दफा ३ को उपदफा ३ मा प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी संविधानको धारा ९३ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले राष्ट्रपति समक्ष लिखित अनुरोध गरेमा निजले त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने ब्यवस्था गरिएको छ । 

दशैंलगतै विशेष अधिवेशन बोलाउने प्रक्रिया सुरु गर्ने भनेपनि आफ्नै दलका सांसदहरु नै कोरोना संक्रमित हुन थालेपछि काँग्रेस पछि हटेको थियो । प्रमुख सचेतक खाँणले भने– ‘हाम्रा माननीयहरु पनि अहिले संक्रमित भइरहनुभएको छ । मिन विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, महेन्द्र लिम्बु लगायत उपचारका क्रममा हुनुहुन्छ । आगामी संसद बैठक बोलाउँदा सभामुख, संसद सचिवालयले पनि यसको सुरक्षा ब्यवस्था मिलाउनुपर्छ । बिशेष अधिवेशनका लागि अन्य दलहरुको पनि समर्थन चाहिने भएकोले चाडपर्वहरु सकियोस् त्यसपछि अगाडि बढौंला भन्ने कुरा भएको छ ।’

विशेष अधिवेशनका लागि काँग्रेस एक्लैको एक चौथाई संख्या नपुग्ने भएकोले जनता समाजवादी पार्टीको पनि समर्थन लिनका लागि अनौपचारिक छलफल भइरहेको उनले बताए ।  उनले भने– ‘अनौपचारिक छलफल मात्रै भएको छ । यसका लागि सबै माननीयहरुपनि काठमाडौं आउनुपर्यो । सरकारले नै हिउँदे अधिवेशन बोलाए हामीले यो काम गर्नुपर्ने थिएन । सरकारले नबोलाएका कारण हामीले विशेष अधिवेशनका रुपमा अघि बढाउन खोजका हौं ।’ 

यी हुन काँग्रेसले संसदमा उठाउनका खोजेका विषयहरु 

नेपाली काँग्रेसले सरकार जनताप्रति उत्तरदायी नभएका कुराहरु संसदमा उठाउन खोजेको छ । जनताको जीवनरक्षा सरकारको पहिलो दायित्व भएपनि सरकार यसप्रति जिम्मेवार नबनेको काँग्रेस प्रमुख सचेतक खाँडले बताए ।  उनले भने– ‘यस्तो महामारीको बेलामा सरकार आम जनताप्रति उत्तरदायी भएन ।

देशको आर्थिक क्षेत्रमा अन्य औद्योगिक क्षेत्रमा यातायात, पर्यटन या कृषि, श्रम लगायतका क्षेत्रलाई सरकारले वास्ता गरेको छैन । श्रमिक मजदुरलाई राहत दिने कुनै नीति दृष्टिकोण नै ल्याएन । सक्ने संक्रमितले आफै उपचार गर नसक्ने जाउ भनेजस्तो गर्यो । जनता राज्यविहिनताको अवस्थामा रहेको महसुस गरेका छौं । यी कुराहरु नै काँग्रेसले संसदमा उठाउन खोजिरहेको छ ।’ अघिल्लो वर्ष पुस ४ गतेदेखि संसदको हिँउदे अधिवेशन सुरु भएपनि चैतदेखि कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका कारण चैत २४ गते अन्त्य गरिएको थियो ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap