२०८० चैत्र १६

सहचालकलाई गाडी चलाउन दिँदा अनाहकमा गयो तीन जनाको ज्यान : कलंकी दुर्घटना

काठमाडौँ । बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५ बजे कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङका रोकिराखेको ट्रकमा सो गाडी ठोक्कियो ।

पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किँदा चारजना गम्भीर घाइते भए । घाइतेहरुलाई तत्कालै उपचारको लागि नजिकैको सहिद मेमोरियल अस्पताल लगियो । उपचारको क्रममा घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ । 

नुवाकोट तार्केश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे, सुन्दरादेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ र तारकेश्वरकै २७ वर्षीय भुपेन्द्र तामाङको दुर्घटनामा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहोराले बताए ।

डीएसपी बोहोराका अनुसार माधव घिमिरेलाई ४ः२१ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घिमिरेको मृत्यु भएको ९ मिनेटपछि (४ः३० बजे) अस्पतालले भुपेन्द्र तामाङलाई पनि मृत भोषणा गरेको हो । त्यस्तै भुपेन्द्रको मृत्यु भएको २७ मिनेटपछि (४ः५७ बजे) रोशन तामाङको मृत्यु भएको बोहोराले बताए ।


Advertisement


दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङ गम्भीर घाइते भएका छन् । तामाङको सहिद मेमोयिल अस्पतालमा उपचार भइरहेको डीएसपी बोहोराले बताए । तामाङको खुट्टा र शरीरमा चोट लागेपनि बोल्न सक्ने अवस्थामा छन् ।

दुर्घटनामा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका रोमन तामाङ सामान्य घाइते छन् । डीएसपी बोहोराका अनुसार तामाङ गाडीमा सहचालक हुन् । सहचालक तामाङले नै गाडी चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले सवारी अनुमति पत्र समेत नलिएको डीएसपी बोहोराले बताए ।

सहचालकको सानो गल्तीले अनाहकमा तीनजनाले ज्यान गुमाउनुपरेको डीएसपी बोहोराले बताए । ‘भर्खर भर्खर गाडी चलाउन सिकेका रहेछन् । सहचालकले जोस्सिएर खाली बाटो भन्दै तीब्र गतिमा गाडी हाँक्दा अनियन्त्रित भएर गाडी दुर्घटना भएको देखिन्छ,’ डीएसपी बोहोराले बताए ।

गाडीका सहचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap