२०८० चैत्र १६

बर्दिवासको अस्पतालमा पिसीआर मेसिन थप

महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो ।

श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए ।


Advertisement


बर्दिवास अस्पतालले यसअघि गत भदौ १२ गतेदेखि नै नगरपालिकाले जडान गराएको पिसीआर मेसिनबाट सर्वसाधारणको कोभिड–१९ परीक्षण गर्दै आएको छ । थप मेसिन प्राप्त भएपछि कोभिड–१९ सङ्क्रमण भए÷नभएको यकिन गर्न स्वाब परीक्षण गर्ने काम अझ सघन गर्न सकिने नगरप्रमुख कार्कीले बताए । शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिवासले कोभिड–१९ नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा फराकिलो बनाउन पिसीआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब बर्दिवासका  अध्यक्ष गौतमको भनाइ छ ।

कोरोना भाइरसको जारी महामारीबीच स्वाब परीक्षण र यसपछि  अन्य रोगबारे जाँच गर्न सकिने बहुउपयोगी पिसीआर मेसिन बर्दिवास अस्पताललाई प्रदान गरिएको रोटरी इन्टनेशनलअन्तर्गत (३२९२, नेपाल शाखा) का पूर्वसचिव  दाहालले हस्तान्तरण समारोहमा बताए । यो बहुउपयोगी मेसिन मुलुकभरिका अन्य आठ अस्पताललाई प्रदान गर्न झिकाइँदा एक अस्पताललाई रु १५ लाखमा उपलब्ध गर्न सकिएको दाहालको भनाइ थियो ।

हस्तान्तरण समारोहमा रोटरी क्लब इन्टरनेशनल नेपाल शाखा (३२९२) का अन्य पदाधिकारी र प्रदेशसभा सदस्य शारदादेवी थापासहितका व्यक्तित्वको सहभागिता थियो । कार्यक्रम रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर,  सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिँदै आएका अस्पतालले जनाएको छ । हालसम्म दुई हजारभन्दा बढीले अस्पतालमा स्वाब परीक्षण गराएका बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap