२०८१ बैशाख १४

ओली संग अन्तिम वार्ता गर्न ५ नेता जाने : नारायण काजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ ।


Advertisement


बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे । आजको अनौपचारिक बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए भने अर्का अध्यक्ष केपी शर्माओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उपस्थित भएका थिएनन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap