२०८१ बैशाख ६

कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् ।

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए ।


Advertisement


पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा कांग्रेस संसदीय दलले रुपन्देहीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि प्रमुख सचेतक हमाल, लेखा समिति सभापति डिल्ली चौधरी लगायत ६ जना सांसदले पार्टीको ह्वीप विपरीत दाङको पक्षमा मतदान गरेका थिए ।

त्यसअघि प्रदेश सभामा सरकारले राजधानी दाङ सार्ने प्रस्ताव पेश गर्दा कांग्रेसका अरु सांसद उठेर विरोध जनाउँदा हमाल सत्ता पक्षका सांसद जसरी आफ्नै सिटमा बसेका थिए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap