२०८० चैत्र १६

जडिबुटी राख्ने भण्डार बन्दै अतिसंवेदनशील सिमकोट विमानस्थल

अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर  व्यापारीको जडिबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ ।
 
सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडिबुटी थुपार्दा फोहोर देखिएको छ ।  

विमानस्थलको खाली क्षेत्रमा जडिबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै  विमानस्थलमा थुपारिएको छ । प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् । 

जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडिबुटी सुकाउने गरेका छन् ।  यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् । 

विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । 


Advertisement


नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उनले जहाज पार्किङ  र  यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उनले स्वीकारे । 

यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दा धेरै जडिबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडिबुटी खरीद गरी ल्याएका छन् । 

संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ  ।  पचासदेखि चार सय क्विन्टलसम्म जडिबुटी खरीद गर्ने व्यापारीको संख्या २० भन्दा बढी  छ । अझै एक हजार चार सय क्विन्टल जडिबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी  छ ।

अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो  ।

चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो ।

हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी रु ४५० सम्म मूल्य तिरेका छन् ।  सिमकोटसम्म ढुवानी दर प्रतिकेजी रु १४० सम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap