२०८१ बैशाख १३

बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

साभार: रातोपाटी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत एक सुरक्षा अधिकृतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र पहरी बलका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ गरी ६७ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको ती अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

त्यस्तै शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वीकय सचिव र फोटो ग्राफरलाई समेत कोरोना पुष्टि भएको छ ।

संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख स्वीकय सचिव इन्द्र भण्डारी र फोटो ग्राफर राजन काफ्ले रहेका छन् ।


Advertisement


संक्रमितमध्ये रिमाल, भट्टराई, थापा, भण्डारी र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् ।

कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

यस्तै १० असोजमा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई समेत कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि सिंह होम आइसोलेसनमा बसेकी छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजमात्रै २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन् ।

Copy link
Powered by Social Snap