२०८१ बैशाख १३

‘पावर ब्याकअप’ कुलेखानी भरिन ५ मिटर बाँकी

Credit: OnlineKhabar

१० असोज, काठमाडौं । लगातार वर्षा भएपछि मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ ।  पानीको सतह हाल १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ ।

जलाधार क्षेत्रमा भारी पानी परेपछि एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए । साउनमा आयोजना धेरै समय चलाएकोले घटेको पानीको सतह असोज १ गते देखि नै बढ्न थालेको हो ।


Advertisement


गत वर्ष असोजमा जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलव ७० मिटर पुगेको थियो । जलाशयमा १ हजार ५ सय ३० मिटरसम्मको तहमा पानी भर्न सकिन्छ ।

मकवानपुर उत्तरीक्षेत्रस्थित देशकै ‘पावर ब्याकअप’को रुपमा परिचित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा मंगलबारदेखि भारी वर्षा भएका कारण पानीको सतह बढेको कुलेखानी जलविद्युत प्रथम ‘ए’ का आयोजना चौधरीले बताए ।

गत शनिबार दिउँसो ४ बजे १ हजार ५ सय १८ दशमलव ५४ मिटर रहेको ईन्द्रसरोवर जलाशयमा पानीको सतह बढेर हाल १ हजार ५ सय २४ मिटर पुगेको उनले बताए ।

कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी भरिन सक्छ । कुलेखानी ड्याममा १ हजार ५ सय २७ मिटरसम्म पानीको सतह पुग्नेबित्तिकै कुलेखानीको ढोकाहरु खोलिने उनले बताए ।

पानीको सतह अब ३ मिटर बढ्यो भने ड्यामको ढोकाहरु खोलिने छ । लगातार वर्षाका कारण ७ किलोमिटर लम्बाई भएको कुलेखानी जलाशयको बढेको हो । उनले जलसतह बढेपछि विद्युत पनि बढी उत्पादन हुने बताए ।

अहिले कुलेखानी ‘ए’ ले ६० मेगावाट बिजुली उत्पादन गर्दै आएको छ । काठमाडौंको लोड व्यवस्थापन केन्द्र (एलडीसी) को निर्देशनअनुसार आयोजना सञ्चालन गरिने उनले बताए ।

साउन र भदौमा पूर्ण क्षमतामा २४ घण्टा नै चलेको आयोजनामा पनीको सतह घटेको थियो । असोजमा कम चलेकोले सतह बढ्न थालेको उनले बताए ।

जलविद्युतका अन्य आयोजनाहरु निरन्तर चलेमा जलाशयमा पानीको सतह अझै बढ्ने उनले बताए । गत वर्ष असोजमा कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २७ दशमलब ७० पुगेको थियो । राष्ट्रिय प्रसारणमा बढी विद्युत माग हुने समयमा कुलेखानीलाई व्याकअपको रुपमा चलाइने गरेको उनले बताए ।

कुलेखानी प्रथम, कुलेखानी दोस्रो र कुलेखानी तेस्रो तीन वटै आयोजना निरन्तर चलेकोले गत वर्षको जति पानीको सतह नबढेको उहाँले बताए । कुलेखानी प्रथममा ६० मेगावाट, र दोस्रोमा ३२ मेगावाट र कुलेखानी तेस्रोमा १४ मेगावाट गरी १ सय १४ मेगावाट जलविद्युत उत्पादन क्षमता छ ।

त्रिशुली थ्री ए जलविद्युत आयोजनाको मेसिन परीक्षणको काम हुँदा कुलेखानी धेरै चलेको आयोजनाका अधिकारीले जनाएका छन् । अहिले त्रिशुली थ्री ए सञ्चालनमा आएकोले कुलेखानी जलविद्युत आयोजना कम चल्न थालेको आयोजना प्रमुख चौधरीले बताए ।

Copy link
Powered by Social Snap