२०८१ बैशाख २१

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता




५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ ।


Advertisement


मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ । तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् ।

यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ ।

मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो । नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई जानकारी गराएको र त्यसैअनुरूप नेपालले तयारी थालेको छ ।



त्यसो त गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयको निर्देशन भन्दै भन्सार विभाग र जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई नाका खोल्ने तयारीमा लाग्न पत्राचार गरेको छ । गृह मन्त्रालय स्रोतकाअनुसार ३१ भदौमा यस्तो पत्र पठाइएको छ ।

सुस्ताङका प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले नाका खोल्ने तयारी भइरहेको बताए । ‘आवश्यक तयारीका लागि हामीले काम गरिरहेका छौं । भन्सारलाई पनि भनेका छौं,’ प्रजिअ बस्नेतले भने, ‘तर, नाका खुल्ने कुरा हामीले भन्न सक्दैनौं ।’ कोरलामा अहिले नेपालको बोर्डर आउट पोष्ट मात्रै छ । कोरलास्थित भन्सार कार्यालयले पनि नाका खुल्नेबारे तयारीका लागि निर्देशन भएको जनाएको छ । ‘कहिले खुल्ने भन्ने यकिन भएको छैन, तर प्रधानमन्त्रीको चीन भ्रमणमा नाका खुल्ने सम्भावना छ,’ कोरोला भन्सारका प्रमुख रेवतिरमण गिरीले भने ।

चीनको तिब्बत प्रशासनले नेपालतर्फको नाका पूर्ववत अवस्थामै खोल्ने नेपाललाई जानकारी यस अघि नै गराइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैको तयारी स्वरुप चिनियाँ पक्षले कोरोला नाकाको अनुगमन समेत गरिसकेको छ । सम्भवतः प्रधानमन्त्री प्रचण्डको भ्रमणमै सो नाका खुला हुनेछ । १३ चैत २०७६ देखि बन्द अवस्थामा रहेको सो नाकामा नेपालतर्फ सशस्त्र प्रहरी कार्यालय सीमा सुरक्षा इकाइबाहेक अन्य कुनै संरचना छैन ।

Copy link
Powered by Social Snap