२०८१ बैशाख ७

एयरपोर्टमा ट्याक्सीको मनोमानीः एक किलोमिटरको १२ सय रुपैंया भाडा !

लकडाउन खुलेपछि घर पुग्न झनै धेरै खर्च

साभार: रातोपाटी

काठमाडौं । सर्लाही घर भएका मानबहादुर लिम्बु आइतबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । विमानस्थलको यात्रु टर्मिनल पार गरिसकेपछि उनलाई लाग्योे, ‘काठमाडौं त आइपुगियो, अब जिल्ला कसरी फर्किने ?’ आफ्नो लगेज गुडाउँदै उनी एयरपोर्टको तल्लो पार्किङसम्म आए, त्यहाँ ठडिएका थिए हरियो नम्बरप्लेटको ट्याक्सीहरु । 

लकडाउन खुल्नुअघि कोभिड–१९ महामारी व्यवस्थापन समिति (सीसीएमसी) को गाडी आउँथ्यो । विदेशबाट आएका सबैलाई लिएर कि त होटलमा जान्थ्यो, होइन भने सीधै होल्डिङ सेन्टर पुर्याउँथ्यो । पीसीआर गरेर ७२ घण्टाभित्र नेपाल आएकालाई सीधैं होल्डिङ सेन्टरमा लगिन्थ्यो । विदेशबाट पीसीआर नगरी चार्टर्ड उडानमार्फत् आएकालाई भने होटल क्वारेन्टिनमा लगिन्थ्यो । त्यो सबै व्यवस्थापन नेपाली सेनाले गर्ने गरेको थियो ।  तर, अहिले अवस्था फेरिएको छ । अहिले पीसीआर गरेर नियमित उडानमार्फत् फर्केका यात्रुलाई कसैले वास्ता गर्दैन ।

लिम्बु भन्छन्, ‘२ हप्ता अगाडि आएको मेरो साथीलाई लिन सेनाको गाडी आएको थियो अरे । अहिले त कोही आउँदो रहेनछ, जहाँ जाने हो आफैं जानुपर्दो रहेछ ।’ निषेधाज्ञा खुलेर सार्वजनिक सवारीसाधन समेत चल्न थालेपछि यतिबेला नियमित उडानमार्फत् स्वदेश फर्किने नेपालीलाई सेनाले पिकअप गर्न छोडेको सीसीएमसीले जनाएको छ । 

मानबहादुरको समस्या त्यहाँबाट सुरु हुन्छ, जब उनी ट्याक्सीमा बस्छन् । ट्याक्सीमा जान तयार भएपछि न उनलाई कहाँ जान लागेको भनेर सोधियो, न त भाडाबारे कुरा नै गरियो । लिम्बु भन्छन्, ‘ट्याक्सी ड्राइभरले घर कहाँ हो भनेर सोधे ? कहाँ जाने हो भनेर सोधेनन् ।’

ट्याक्सी ड्राइभरले गौशालाको एउटा टिकट काउन्टरअघि रोकेर उनीसँग १ हजार २ सय रुपैंया भाडा मागे । १ हजार रुपैंया ट्याक्सी भाडा र २ सय रुपैंया गाडी खोजिदिएको भन्दै आफूसँग त्यति भाडा मागेको उनी बताउँछन् । त्यसो त ट्याक्सी ड्राइभरले काउन्टरमा पुर्याइदिनुबाहेक कुनै सहयोग नगरेको लिम्बु बताउँछन् । गौशालाबाट उनी १५ सय रुपैंयाको टिकट काटेर सर्लाही हिँडेका छन् । लिम्बु भन्छन्, ‘लकडाउन हुँदा आएको साथी १४ सयमा घर पुगे रे, मलाई २७ सय रुपैंया पर्यो । ट्याक्सीबाट ठगिएको महशुस भएको छ ।’

अहिले एयरपोर्टमा हरियो नम्बरप्लेट भएका ट्याक्सीहरु चल्छन् । उनीहरुको काम भनेको यात्रुलाई एयरपोर्टबाट सम्बन्धित गन्तव्यसम्म पुर्याइदिनु हो । कुनैपनि समयमा उत्रिने यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनको लागि यस्तो व्यवस्था गरिएको हो । यस्ता ट्याक्सीहरुले बाहिर यात्रु बोक्न पाउँदैनन् । सिधै एयरपोर्टदेखि यात्रुको गन्तव्यसम्म पुर्याउन मात्रै पाउँछन् ।


Advertisement


एयरपोर्ट क्षेत्रमा लामो समयदेखि ट्याक्सी सञ्चालन गर्दै आएका नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष विजय स्वाँर भन्छन्, ‘एयरपोर्टमा चढेका मान्छेलाई धनगढी पुर्याउन परे पनि हामी पाउँछौं, तर बाहिर मान्छे हाल्ने अनुमति हामीलाई छैन । त्यसैले सरकारले यस्तो ट्याक्सीको लागि सामान्य भन्दा दोब्बर भाडादर तोकेको छ ।’

एयरपोर्ट क्षेत्रमा रहेका हरियो नम्बरप्लेटका ट्याक्सीमा मिटर पनि हुँदैन । तर उनीहरुले अरु ट्याक्सीजस्तै दूरीको हिसाबले भाडा लिन्छन् । तर, यही नाममा यात्रुहरुमाथि ब्रह्मलुट गरिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष स्वाँर भने एयरपोर्टभित्र आफ्नो कम्पनीको गाडीबाट त्यस्तो हुनै नसक्ने दाबी गर्छन् ।

आफूले १४ वर्षदेखि त्यो क्षेत्रको ट्याक्सीको व्यवस्थापन गर्दै आएको भन्दै त्यसरी कसैले भाडा लिएको पाइए कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘हाम्रो ट्याक्सीहरुबाट त्यस्तो हुँदैन, यहाँ हामी मात्रै हुँदैनौं, बाहिरबाट आएका ट्याक्सीहरु पनि हुन सक्छन्, हाम्रोमा त्यस्तो भएको भए हामी कारबाही गर्छौं’ स्वाँरले भने ।

 स्वाँरले त्यसो भने पनि एयरपोर्टका ट्याक्सीहरुले महँगो भाडा लिएर ठगी गर्दै आएको गुनासो यसअघिदेखि नै निरन्तर आएको हो । कोभिड–१९ को जोखिमका कारण त्यो क्षेत्रमा अरु ट्याक्सी प्रवेश गर्न नपाउँदा उनीहरुको दादागिरी झनै बढेर गएको छ । त्यही कारणले विभिन्न कारणले विदेशबाट फर्केकाहरु ठगिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले कुनै पनि नाममा तोकिएको भन्दा बढी भाडादर लिन नपाइने भएकोले त्यस्तो गरिएको पाइए कारबाही हुने बताए । उनले त्यसरी ठगिएको पाइएमा सम्बन्धित सवारी साधनको नम्बरसहित हटलाइन नम्बर १०३ वा ट्राफिक प्रहरीलाई खबर गर्न अनुरोध गर्दै त्यस्तो सवारी साधनमाथि तत्कालै कारबाही गर्ने बताए । 

त्यसो त, अहिले बसपार्क लगायत यात्रुको भीडभाड बढी हुने क्षेत्रमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सिभिल पोशाकका प्रहरीमार्फत् भाडादर, स्वास्थ्य मापदण्डको पालना लगायतका विषयमा अनुगमन गरिरहेको छ । तर, यात्रु आफैं स्वविवेक भएर रिपोर्ट नगरेसम्म यसले ठगी नरोकिने एसएसपी ढकाल बताउँछन् । त्यसैले आफू ठगिएको महशुस हुनेबित्तिकै जानकारी गराइहाल्न उनको सुझाव छ । 

Copy link
Powered by Social Snap