२०८१ बैशाख २२

प्रधानमन्त्रीसँग न्युयोर्क जाने टोली आधा छाँटियो, अब १२ जना मात्र जाने




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको संख्या आधा छाँटेका छन् ।यसअघि २४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने तयारी गरिएको थियो ।परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको महासभामा जाने व्यक्तिहरुको नाम छाँट्न गरेको अनुरोध प्रधानमन्त्रीले स्वीकारेपछि संख्या आधा घटाइएको हो ।


Advertisement


“प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रसंघको महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिण्डलको संख्या आधा घटाइएको छ,” प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, “अब नेपालबाट जाने टोली १२ जना जतिको मात्र हुनेछ ।”अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जानेछन् ।भ्रमणमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालयकी प्रवत्ता तथा यूएन महाशाखा प्रमुख सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल दिलिप कुमार पौडेल, न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।



प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् ।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेदेखि सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Copy link
Powered by Social Snap