२०८१ बैशाख १७

भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 




एसिया कप २०२३ अन्तर्गत नेपालले छिमेकी भारतसँग सोमबार प्रतिस्पर्धा गर्‍यो। भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले खेलमा १० विकेटको हार ब्यहोरे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। 

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो। यद्यपी नेपालले भारतविरूद्ध गरेको ब्याटिङका कारण नेपालको प्रशंसा भइरहेको छ। 

सामाजिक सञ्जालमा क्रिकेट व्यक्तित्वहरूले नेपाली टिमको प्रशंसा गरिरहेका छन्।


Advertisement


श्रीलांकको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्‍यो। 

भारतीय बलरविरुद्ध राम्रो ब्याटिङ गरेका कारण नेपाली टिमको प्रशंसा भइरहेको छ।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडेका थिए। उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरे। 

आसिफले अर्धशतक प्रहार गर्न सफल भए। एसिया कपमा तथा भारतविरुद्ध पहिलो अर्धशतक बनाउने इतिहास बनाएका आसिफले ९७ बलमा ८ चौका हिर्काए। यस्तै गुल्सन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन, दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका नै प्रहार गर्दै २९ रन र सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्काको मद्दतमा ४८ रन जोडे। 

मोहमद सामी, मोहमद सिराज, रविन्द्र जडेजा, कुलदिप यादव र हार्दिक पाण्ड्या जस्ता विश्वस्तरीय बलरविरुद्ध नेपाली ब्याटरले राम्रो खेल्दा क्रिकेट जगतमा चर्चा कमाउन सफल भए। खेलमा भारतका मुख्य स्पिनर कुलदिप यादवले नेपाली ब्याटरको विकेट लिन सकेनन्।



भारतविरुद्धको खेलपछि नेपालका पूर्वकप्तान पारस खड्काले नेपाली टिम अघि बढ्ने प्रयासमा रहेको बताए। 

‘हामी अघि बढ्ने प्रयासमा छौं। सम्पूर्णमा सहयोगको भावना, सहनसीलता र धैर्यता रहोस भन्ने अपेक्षा छ। यो खेलमा आर्थिक लगानी सँगसँगै क्रिकेट खेलको संस्कार पनि स्थापना गर्नतिर हामी अग्रसर हुनपर्छ। हाम्रो नेपाली राष्ट्रिय टिमप्रति गर्व छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

यस्तै भारतीय विश्लेषक आकास चोपडाले पनि नेपाली टिमको प्रशंसा गर्दै भारतले नेपाललाई सहयोग गर्नु पर्ने बताएका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले नेपाली क्रिकेटलाई अपनाउनुपर्छ र अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढाउनु भारतको दायित्व हो। भारतको ‘ए’ टोलीलाई नेपाल पठाउनुपर्छ। उनीहरूलाई भारतको घरेलु संरचनामा समावेश गर्नुहोस् (मलाई याद छ भारत-ए टिमले वेस्ट विन्डिजमा प्रथम श्रेणी सिजन खेलेको)। नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय छ… र उनीहरूसँग सम्भावना पनि छ।’

यस्तै नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेले पनि नेपालको प्रदर्शन गर्व गर्न लायक भएको बताएका छन्। 

‘नेपालले भारतविरूद्ध खेलेको हेर्दा राम्रो लाग्यो, २० वर्षपछि सपना पूरा भएको छ। भारतविरुद्ध नेपालको प्रदर्शनले सबै नेपालीले गर्व गरेका छन्,’ उनले फेसबुकमा लेखेका छन्। 

नेपाली क्रिकेट कमेन्टेटर सचिन तिमल्सेनाले नेपाली टिमले भारतसँग खेल्दा जग बसेको बताएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘समय लाग्छ, यो सुरूवात थियो। जग बसेको छ, अब यसमा थप्ने हो। वेल डन नेपाल!’ 

Copy link
Powered by Social Snap