२०८१ जेष्ठ ३

सन्देश सभामा समाजवादी मोर्चाका नेताहरूले दिएका आ–आफ्ना सन्देश 




सरकारमा आबद्ध तीन दल र सकार बाहिर रहेको विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले देशव्यापी सन्देश सभा गरिरहेको छ।

सन्देश सभामा मोर्चामा आबद्ध शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन्। उनीहरूका सम्बोधनले मोर्चाका साझा धारणाबाहेक अन्य धेरै विषयमा पनि संकेत गरिरहेका छन्। 

मोर्चाले शुक्रबार पोखरामा सन्देश सभा आयोजना गरेको थियो।


Advertisement


सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आफ्नै सन्देश थिए।

प्रचण्डका जस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि आ–आफ्नो सन्देश दिए।

मोर्चा आबद्ध जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्। उनका ठाउँमा सोही पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाले सम्बोधन गरे।

मोर्चाले बनाएका साझा अवधारणाका विषयमा उनीहरूका धारणा समान देखिन्छ। जुन अहिलेका राजनीतिका समस्याभन्दा पनि मोर्चालाई समेट्न तयार पारिएका सैद्धान्तिक दस्तावेज जस्ता देखिन्छन्। 

सन्देश सभामा नेकपा महासचिव विप्लवले आफ्नै सन्देश दिए। उनका सम्बोधनमा दलाल पुँजीवाद र अमेरिकी साम्राज्यवादलाई मुख्य निशाना बनाएका थिए। सबै खालका समस्याका जड नै यही भएको उनको सम्बोधनमा सुन्न सकिन्छ। 

माओवादीलाई २, ३ तिरबाट भीषण हमला भएको भन्दै आफूहरूलाई घेराबन्दी गरेर जेल हाल्ने षड्यन्त्र भइरहेको दाबी गरे।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई हत्याराको आरोप लगाएको भन्दै उनले कडा प्रतिवाद गरे।

‘प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई चोक चोकमा हत्याराको आरोप लगाएका छन् माओवादी अपराधी हो, हत्यारा हो भनिराखेका छन्,’ उनले भने, ‘छिटो भन्दा छिटो माओवादीलाई, प्रचण्डलाई जेल पुर्‍याउनुपर्छ भनेका छन्, माओवादी फुट्न मात्र होइन, जुट्न पनि जानेको छ।’ 

साम्राज्यवादीको उक्साहटमा यस्ता कार्य भएको दाबी गरेका विप्लवले कस्ले यस्ता गतिविधि गरिरहेका छन् भन्ने स्पष्ट पारेनन्। बरू उनले यसका विरूद्ध माओवादीलाई एकताबद्ध गर्नुपर्ने इतिहासका आवश्यकता भएको बताए। 

अमेरिकी सहयोग नियोग एमसिसीको कट्टर विरोध गरेका विप्लवले नेपाललाई सैन्य अखडा बनाउन विदेशी लागिपरेको आरोप लगाए। 

अर्को प्रसंगमा आफूलाई संसदमा जान खोजेको भन्दै विरोधीले भनेको बताए। क्रान्तिका लागि आफू संसदमा जान तयार रहेको उनले सन्देश दिए।

‘विप्लव संसदमा छिर्ने ठाउँ खोज्दैछ भनेका छन्,’ उनले भने, ‘संसद क्रान्तिको साधन हुन्छ, किन नजाने।’

सन्देश सभामा अर्का सन्देशबाहक थिए पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल।

उनले पनि आफ्ना सन्देश कार्यकर्तामाझ पुर्‍याए। 

समाजवादी मोर्चामा सबै कम्युनिष्ट रहेको भन्दै उनले उपेन्द्र यादव पनि भविष्यमा कम्युनिष्ट पार्टीमा आउने बताए। 

‘उपेन्द्रजी पहिला हाम्रो पार्टीमा हुनुहुन्थ्यो, त्यसपछि माओवादीमा जानुभयो,’ उनले भने, ‘अहिले कम्युनिष्ट छाड्नुभएको छ, छिट्टै फर्केर आउनुहुन्छ।’



समाजवादी मोर्चा बनाउँदा एकीकृत समाजवादी पार्टी माओवादीमा विलय हुन्छ भनेर आफूले सुन्ने गरेको उनले बताए। 

‘म सुन्ने गर्दछु, मोर्चा बनाएपछि पार्टी विलिन हुनेछ, हाम्रो पार्टीमा पनि कतिपयलाई लागेछ कि यो माओवादीमा विलय हुने हो कि भनेर, जसपालाई पनि लागेको होला। जस्लाई जस्लाई मिल्न मन लागेछ उहाँहरूलाई मिल्न हामी रोक लगाउँदैनौं, हाम्रो पार्टीको कुरा हामी भन्छौं, कार्यकर्तालाई भन्न चाहन्छु, पार्टी बलियो बनाउनुस्,’ उनले भने।

नेकपा एकीकृत समाजवादीले एमालेसँग फुटको औचित्य पुष्टि गर्न नसकेको र माओवादीसँग मिल्न खोजेको भन्दै कतिपय नेता कार्यकर्ता एमालेमा फर्किरहेका छन्। यसलाई रोक्न उनले माओवादीसँग पार्टी एकता हुने नहुने टुङ्गो लगाएनन्, पार्टी र मोर्चा बलियो बनाउन सन्देश दिए।

देशव्यापी आयोजित मोर्चाको सन्देश सभामा उल्लेख्य उपस्थितिले आफूहरू उत्साही भएको भन्दै नेपालले सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रमका मुख्य आकर्षण प्रधानमन्त्री प्रचण्डले भने माधव नेपालको भन्दा फरक धारणा राखे।

उनले मोर्चामार्फत् एउटै कम्युनिष्ट पार्टी बनाउने उद्धेश्य राखेको बताए। 

‘एउटै कम्युनिष्ट पार्टी बनाउने उद्धेश्य छ, समाजवादी क्रान्ति एउटा पार्टीले गर्ने होइन, लाखौं करोडौं जनताले गर्ने हो,’ उनले भने, ‘यसका लागि सबै कम्युनिष्ट एउटै पार्टी बन्न जरूरी छ।’

हतारमा पार्टी एकता गर्दा दुर्घटना हुने खतरा देखिएकाले विचार, सिद्धान्त, रणनीतिमा यथेष्ट छलफल हुन आवश्यक रहेको उनले बताए।

चुनावअघि नै मोर्चा घोषणा गर्न खोज्दा नकारात्मक असर पर्न सक्ने देखिएको उनले बताए।

त्यतिबेला विप्लवसँग कुराकानी भइरहेको र चुनावमा नकारात्मक असर पर्ने देखिएर मोर्चा घोषणा नगरेको प्रचण्डले बताए।

‘चुनावअघि मोर्चा बनाउँदा गठबन्धनमा नकारात्मक असर पर्ने हो कि, पार्टी एउटै बनाउनेतिर छलफल गर्दा एकले अर्को अस्तित्व नस्वीकार्ने अवस्था देखियो,’ उनले भने, ‘समाजवादीले माओवादीलाई शंका गरेजस्तो, माओवादीले समाजवादीलाई शंका गरे जस्तो ठाउँ ठाउँबाट मलाई रिपोर्ट आयो।’

मोर्चामा आबद्ध ४ दल एकताबद्ध भएर लाग्दा मोर्चा बाहिरका कम्युनिष्ट प्रभावित हुने र मोर्चामा आउने उनको अपेक्षा छ।

मोर्चाभित्र एकले अर्कोलाई सुन्ने र बुझ्ने हुनुपर्ने प्रचण्डले कार्यकर्तालाई सन्देश दिए।

सुन प्रकरणमा माओवादी नेताहरू मुछिएका विषयमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीलाई बोलाएर आफूले कुरा गरेको उनले बताए। माओवादी भए पनि नछाड्न आफूले निर्देशन दिएको उनको दाबी छ। 

‘माओवादीका फलाना सुनमा संलग्न छ, भनेर आयो, छ भने पक्डिएर ल्याए भयो त, प्रतिवेदनमा उललेख गरिदिने जनतालाई भ्रम दिने, सरकारलाई अप्ठ्यारो पारिदिने के गर्न खोजेको हो सम्म अनुसन्धान अधिकारीलाई भनेको छु’ उनले भने। 

सरकारले राम्रा राम्रा काम गरेको भन्दै प्रशंसा गरेका माधव नेपाल ललिता निवास प्रकरणमा निर्दोष सावित भएको प्रचण्डले दाबी गरे। 

‘तपाईंले हेर्नुभयो भने माधव जी यहाँ हुनुहुन्छ, माधव जीका बारेमा पनि धेरै के हो कसो हो बनि नै राख्यो,’ उनले भने, ‘पहिलो पटक उहाँ निर्दोष हो भनेर सावित भयो, औपचारिक ढंगले सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन।’ 

माधव नेपाल ललिता निवास प्रकरणमा मुद्दा चल्ने हो कि भनेर आफूलाई पनि ‘टेन्सन’ भएको प्रधानमन्त्री प्रचण्डले बताए।

केपी ओली प्रधानमन्त्री हुँदा षड्यन्त्र गर्छ कि भन्ने टेन्सन पनि आफूलाई रहेको उनले दाबी गरे।

‘सिआइबीले निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपपछि सधैंको टेन्सन माधव जीलाई मात्र टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि भयो। केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई टेन्सन थियो किनकी, हामी एउटै मोर्चामा थियौं, कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो अब त्यो रहेन’, प्रचण्डले भने।

Copy link
Powered by Social Snap