२०८१ बैशाख २७

महिला टिमलाई मलेसियामा उपाधि




काठमाडौँ — नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलित ‘महिला ट्वान्टी–२० सिरिज’ को उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी देश सहभागी प्रतियोगिताको उपाधि पहिलोपल्ट जितेको हो ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोट खेल्ने तयारीमा आयोजित सिरिज जितेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सामसनजंग थापाले भने, ‘यो सुरुआतजस्तै हो । हामी अझै राम्रो गर्न सक्छौं । सबैभन्दा महत्त्वपूर्ण ग्लोबल क्वालिफायर (विश्वकप छनोट) मा छनोट हुनु हो । अहिले सबै टिम राम्रा छन्, आ–आफ्नो स्तर बढाइरहेका छन् । त्यसैले महिला क्रिकेटमा केही भन्न सकिँदैन तर यो सिरिज जितेपछि खेलाडीको मनोबल उच्च भएको छ । टिम सेट हुँदै गइरहेको छ । सबैको आत्मविश्वास बढेको छ ।’


Advertisement


क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले प्रभावशाली बलिङ गर्दै हङकङलाई १०१–६ मा सीमित पारेको थियो । लेग स्पिनर खुसी डंगोलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन् । कविता जोशी र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए ।

जितका लागि १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर ब्याटर काजल श्रेष्ठलाई शून्यमै गुमायो तर इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाउँदै ५.३ ओभरमा नेपाललाई ३७–१ को स्थितिमा पुर्‍याएपछि पानी पर्न थाल्यो र पुनः खेल सुचारु हुन सकेन । त्यसैले डकवर्थ लुइस पद्धतिका आधारमा १३ रनको जितसहित नेपाललाई च्याम्पियन घोषणा गरिएको हो । नेपालले समूह चरणमा पनि हङकङलाई ६ विकेटले हराएको थियो । अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेकी इन्दुले प्लेयर अफ द सिरिजको अवार्ड हात पारिन् ।



थापाले प्रशिक्षकका रूपमा टिम सम्हालेको पहिलो प्रतिस्पर्धामै नेपालले गत जेठमा मलेसियाविरुद्ध ट्वान्टी–२० सिरिजको उपाधि जितेको थियो, जुन नेपाली सिनियर महिला टिमको पहिलो उपाधि हो । यसअघि नेपाली महिला टिम एसीसी ट्रफी २००७ (मलेसिया) र आईसीसी वुमेन्स ट्वान्टी–२० वर्ल्डकप २०१७ एसिया क्वालिफायर (हङकङ) मा उपविजेता भएको थियो ।

मलेसियाको बांगीमा भएको ५ खेलको सिरिज नेपालले ३–२ ले कब्जा गरेको थियो । थापाले टिम सम्हालेयता टिममा थुप्रै परिवर्तन भएको छ । यसक्रममै चार देश सम्मिलित सिरिजको ट्रफी जित्दै नेपालले विश्वकप २०२४ एसिया छनोटमा राम्रो गर्न सक्ने सम्भावना देखाएको छ । ‘स्तरीय ब्याटिङ, अनुशासित बलिङ र राम्रो फिल्डिङ गरेर कमीकमजोरी सुधार्ने हो भने छनोटमा हामी राम्रो गर्न सक्छौं,’ प्रशिक्षक थापाले भने, ‘ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य लिएर हिँडेका छौं । हामी सबैको उत्साह बढेको छ ।’

Copy link
Powered by Social Snap