२०८१ बैशाख २६

तीन हजार दर्शकमाझ टोकियोमा गुञ्जियो नेपथ्य




काठमाडौं । चर्चित लोकरक ब्याण्ड नेपथ्यले जापानको राजधानी टोकियोमा सांगीतिक कन्सर्ट गरेको छ । तीन हजारभन्दा बढी दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गर्‍यो ।

मंगलबार बेलुकी तोयोसु पिट हलमा ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’बाट प्रस्तुति सुरु भएको थियो । त्यसको लगत्तै गायक अमृत गुरुङले किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजबीच ‘कोशी पानी’ गाउन सुरु गरे ।


Advertisement


त्यसपछि ‘भेंडाको ऊनजस्तो’ले दर्शकलाई अझै रोमाञ्चित बनायो । त्यसपछि नेपथ्यले आफ्नो  सर्वकालीन हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल माहोलमा पूर्णतया कब्जा जमायो ।

प्रस्तुतिका बीच अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे । ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्मका अनेक यादहरु छन् ।’

त्यसपछि उनले  ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गीत सुनाउँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्वीर देखाइएको थियो ।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितिसँगै केही जापानी अनुहार पनि देखिन्थे ।

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे ६ बजे सुरु भएको कन्सर्ट १६ वटा गीत र दुईवटा म्युजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो । सधैं झैं अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’सम्म आइपुग्दा हलभरि दर्शकहरु नृत्य गरिरहेका देखिन्थे ।



‘टोकियोमा सप्ताहन्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भव्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेले भने, ‘यो उपस्थिति देखेर सबै अचम्म मानिरहेका छौं ।’

कार्यक्रममा अमृतलाई ध्रुव लामाले ड्रमसेट, सुरज थापाले किबोर्ड, सुविन शाक्यले बेस गितार, निरज गुरुङले गितार र शान्ति रायमाझीले मादलमा सघाएका थिए ।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ । १२ अगस्टमा त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जिनेछ ।

Copy link
Powered by Social Snap