२०८१ बैशाख १५

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर




वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो ।


Advertisement


पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । महानगरले पटक–पटक तार व्यवस्थापनका लागि पहल गर्दासमेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट काटेरै हटाउन लागिएको हो ।



बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि पाँचवटा सेवा प्रदायकका प्रतिनिधिमात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सिजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए ।

वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाले टाँगेका तार अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकाले महानगरले व्यवस्थापनका लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुँदा ती तारको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो ।

ठाकुरराममा पठनपाठन थालियो

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङ्घले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण विगत दुई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।

Copy link
Powered by Social Snap