२०८१ बैशाख १३

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत




अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताउनुभएको हो ।

“अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।”


Advertisement


अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।

मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ । “अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन । हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो ।



अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उहाँको भनाइ छ । “यी एक÷दुई वर्षमा आएका समस्या होइनन् । यसको एउटा शृङ्खला छ । त्यसमा समस्या थपिँदै थपिँदै गएर अहिलेको अवस्था आएको हो”, उहाँले भन्नुभयो, “अहिलेको सरकारले भर्खरै सिर्जना गरेको वा योभन्दा अगाडिको सरकारले एकै वर्षमा सिर्जना गरेको समस्या भन्ने होइन । लामो समयदेखिका विभिन्न समस्या जोडिँदै जोडिँदै आएर अहिलेको स्थिति बनेको हो ।”

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उहाँको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताउनुभयो । “हाम्रो पूँजीगत खर्चको प्रभावकारिता र विस्तारमा समस्या छ तर तलबभत्ता, सामाजिक सुरक्षालगायतका साधारण खर्चको दायित्व बढिरहेको छ । हरेक सरकारको बेलामा यो थपिँदै गएको छ”, उहाँले भन्नुभयो, “हाम्रा संरचनागत समस्या छन् । हामी ठेक्का लगाइसक्छौँ तर साइट क्लियरेन्स भएको हुँदैन ।”

अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आजको भोलि नै नतिजा देखाउन नसकिने पनि उहाँको भनाइ छ । तर सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गर्नुभयो । “आज बोलेर भोलि चमत्कार हुने कुरा होइन । यसका लागि निरन्तररूपमा काम गर्नुपर्छ । अर्थमन्त्रीको नाताले म सरकारको तर्फबाट हामी सम्पूर्णरूपमा इमानदारीपूर्वक आफ्नो क्षमता, योग्यताले भ्याएसम्म देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँछु”, उहाँले भन्नुभयो, “अहिले नै सबै समस्या हटाएर सबै कुरा ठीक पार्छु भनेर दाबी गर्दिनँ तर सबैको सहयोगबाट हरसम्भव प्रयास गर्नेतर्फ सरकारको प्रयास केन्द्रित हुनेछ ।”

कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उहाँको भनाइ छ । पूँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उहाँको भनाइ छ । त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताउनुभयो ।

Copy link
Powered by Social Snap