२०८१ बैशाख ५

लागुऔषध दुर्व्यसन न्यूनीकरणमा सहकार्य गर्दै स्थानीय सरकार




सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबारको बढ्दै गएको छ । कञ्चनपुरमा हरेक दिन लागुऔषधसहित पक्राउ गर्ने क्रम निरन्तर छ ।

कञ्चनपुर प्रहरीले हरेक दिन यहाँ लागुऔषधको कारोबारदेखि दुव्र्यसनमा लिप्त युवालाई पक्राउ गरिरहेको छ । भित्रिरुपमा यहाँका नौवटै पालिकाका लागुऔषध दुव्र्यसन र कारोबार न्यूनीकरणका लागि स्थानीय सरकार पनि जाग्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कञ्चनपुरबाट मात्रै लागुऔषध कारोबार र त्यसमा संलग्न एक सय ५७ जनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।


Advertisement


यहाँ स्थानीय तहले बस्तीको विकास, अपाङ्गता भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकलाई सुविधा दिने र सडक सञ्जाल निर्माणलगायतका जोड दिए पनि लागुऔषध नियन्त्रणका लागि ठोस योजना भने बनाएको देखिँदैन । यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपाकिलाले प्रहरी साझेदारीमा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

“आगामी बजेटमै समावेश गरेर लागुऔषध न्यूनीकरण र सचेतनाको विषय प्राथमिकतामा राखेर अघि बढ्ने योजना छ”, नगरप्रमुख महराले भन्नुभयो, “अहिलेसम्म बजेट नै विनियोजन लागुऔषध नियन्त्रणका लागि पहल भने भएको छैन ।”

उहाँले कैलाली र कञ्चनपुरका पालिका मिलेर सुधारगृह व्यवस्थापन र सञ्चालनका विषयमा पहल धनगढीमा भएको बताउनुभयो । “प्रत्येक पालिकाबाट रकम सङ्कलन गरेर कोष बनाएर सुधारगृह व्यवस्थापन जुट्ने विषयमा छलफल भएको हो”, उहाँले भन्नुभयो, “वडास्तरसम्म पनि सचेतनाका लागि सञ्जाल बनाउने विषयमा पनि गृहकार्य गर्छौं ।”

खुला सीमानाका भएका कारण भारतबाट यहाँ लुकिछिपी खैरोहिरोइन बढीमात्रामा भित्र्याउने गिरोह र सेवनकर्ता सक्रिय भएको प्रहरीको भनाय छ । प्रहरीले पनि केही वर्षयता लागुऔषधको विषय नियन्त्रणमा लिन कारबाही र सचेतना अभियान नै सञ्चालन गरेको छ ।



प्रहरीका अनुसार यहाँ चालु आर्थिक वर्षको फागुनसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । सो अवधिमा २७ किलोग्राम चरेश, चार सय १३ दलमलव ६० ग्राम खैरोहिरोइनलगायतका लागुऔषध नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा कञ्चनपुरमा लागुऔषधसम्बन्धी मुद्दामा दुई सय ३९ जना पक्राउ परेका थिए भने एक सय ४३ वटा मुद्दा दर्ता भएका थिए । यहाँ सो मुद्दामा पक्राउपर्नेमा ८० प्रतिशतभन्दा बढी युवापुस्ताका छन् भने महिला र भारतीय नागरिक पनि प्रहरीको कारबाहीको दायरामा आएका छन् ।

यहाँको बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले सचेतनाका कक्षा सञ्चालन भइरहेको बताउनुभयो । “प्रहरीले रातदिन नेपाल–भारत सीमा नाकामा ड्यिुटी दिएर मात्रै लागुऔषध आयात नियन्त्रण गर्न समस्या छ”, उहाँले भन्नुभयो, “सीमानाका स्थानीय युवालाई समेत सक्रिय गराउने सोचका साथ अघि बढेको छु ।”

उहाँले हरेक अभिभावक आफ्ना सन्ततिप्रति चनाखो हुनुपर्ने बताउँदै प्रहरी र पालिकाको पहलले मात्रै नपुग्ने जानकारी दिनुभयो । उहाँले दक्षिण क्षेत्रबाट बढीमात्रामा लागुऔषध भित्रिने गरेको समाचार सुन्नमा आएको र त्यसको नियन्त्रणका लागि सबैपक्षको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी यहाँको जेठो भीमत्तनगरपालिकाले पनि वडा टोलस्तरसम्म लागुऔषध दुव्र्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो । “लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट पनि विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि वडा, टोलमा विद्यालय, आमासमूहदेखि स्थानीयसम्मलाई जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले यहाँ लागुऔषध दुव्र्यसन र कारोबारको रुप डरलाग्दो भएको बताउनुहुन्छ । “सबैतिरबाट लागेर यसको नियन्त्रणमा जोड दिएनौँ भने स्थिति भयानक छ”, उहाँले भन्नुभया ।

कञ्चनपुर कारागारका जेलर माया बस्नेत थापाले लागुऔषधसम्बन्धीका मुद्दाका मात्रै एक सय ४३ जना कैदीबन्दी रहेको बताउनुभयो । “चार सय २३ जनामध्ये एक सय ४३ लागुऔषधसम्बन्धी मुद्दाका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय लागुऔषध मुद्दाका कैदीबन्दी आउनेक्रम बढेको छ ।”

Copy link
Powered by Social Snap