२०८१ बैशाख १४

पुनःस्थापनाका कार्यक्रम ल्याउन हरवाचरवाको माग




राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन गरी लगत सङ्कलन तथा बहुआयामिक गरिबी निवारणसहित पुनःस्थापनाका कार्यक्रम ल्याउन मधेस प्रदेश सरकारसित माग गरेको छ ।


Advertisement


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मङ्गलबार ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष दशनलाल मण्डलसहितको टोलीले २०७९ साउन २ गते सङ्घीय सरकारले हरवाचरवा मुक्ति, ऋण तथा कागजात खारेजीको घोषणा गरे पनि पुनःस्थापनाका काम अगाडि नबढेको भन्दै गुनासो गरेको छ । प्रदेश सरकारलाई एकीकृत प्याकेजसहित न्यायिक पुनःस्थापना गर्नुपर्ने र त्यसका लागि तत्काल अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठनको माग गरिएको अधिवक्ता बालाराम भट्टराईले जानकारी दिनुभयो ।



संविधान र कानुनले निषेध गरेको हरवाचरवा प्रथा मधेस प्रदेशका आठ जिल्लामा अझै अस्तित्वमा रहेकाले यसलाई हटाउन विस्तृत कार्ययोजना र कार्यविधि तत्काल प्रदेश मन्त्रिपरिषद्बाट पारित गरी जीविकोपार्जनका लागि पर्याप्त जोतिखाने भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र समावेशीकरणसहितको एकीकृत प्याकेज घोषणा गर्न माग गरिएको छ । मुख्यमन्त्री यादवले ज्ञापनपत्रमा उठाइएका विषय सम्बोधनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मञ्चका अध्यक्ष मण्डलले बताउनुभयो ।

“मुख्यमन्त्रीले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममार्फत ठोस कार्यक्रम ल्याउन छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसबाट हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो । ज्ञापनपत्रमा पुनःस्थापनाका लागि एकीकृत प्याकेज घोषणा, रोजगारीविहीन हरवाचरवालाई छ महिनाभन्दा लामो दीर्घकालीन प्रकारको सीपसम्बन्धी तालिम, रु एक लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने, बहुआयामिक गरिबी निवारण कार्यक्रम ल्याउनुपर्ने, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशित र परिचालित गरेर तुरुन्तै सुरु हुने गरी हरवाचरवाको लगत सङ्कलन र सोका लागि एक अधिकारसम्पन्न हरवाचरवा पुनःस्थापना समिति गठन तथा आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको पुनःस्थापनाका लागि पर्याप्त बजेट विनियोजनको माग गरिएको छ ।

Copy link
Powered by Social Snap